मङ्कीपक्सको डाबर कसरी छुट्टाउने, जाँच कतिबेला गर्ने ?
हाम्रो शरीरमा धेरै कारणले डाबर आउन सक्छ। एउटा कारण मङ्कीपक्स भाइरस पनि हो। तर डाबर मङ्कीपक्स हो वा होइन भनेर थाहा पाउन के-के कुरामा ध्यान दिनुपर्छ र के जाँच गर्नुपर्छ?
सबैभन्दा पहिले त हामीले आफैलाई सोध्नुपर्छ: के म सङ्क्रमितको संसर्गमा पुगेको छु? मङ्कीपक्स भाइरस सर्नका लागि सङ्क्रमितसँग नजिकको र लामो सम्पर्क हुनुपर्छ।
विश्वमा अहिले यो सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या निकै न्यून छ। जसको अर्थ हो यसको सङ्क्रमण भइहाल्ने जोखिम निकै कम छ।
यो सङ्क्रमण फैलिइरहने अफ्रिकाका दुर्गम देशहरूमा पनि बालबालिकाहरूमा यसको सङ्क्रमण निकै कम छ। मङ्कीपक्स भयो भने सबैभन्दा पहिले ज्वरोजस्तै लक्षण महसुस हुनसक्छ। थकान लाग्छ र जीउ तातेर बिसन्चो हुन्छ।
यसलाई चिकित्सकहरू शरीरका कोषहरूमा भाइरस प्रवेश गर्दा हुने “आक्रमण अवधि” भन्छन्। हाम्रो रोगप्रतिरोधी क्षमता सङ्क्रमणविरुद्ध सक्रिय हुने भएकाले ग्रन्थिहरू सुन्निन थाल्छन्।
त्यसपछि शरीरमा डाबर देखा पर्छन्। ती विभिन्न चरणमा “फुट्दै” जान्छन्। सुरुमा छालामा रातो दाग मात्रै देखिन्छ र बिस्तारै छालामा खटिरो देखिन्छ अनि पाप्राहरू आउन थाल्छ।
विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन कार्यक्रमका डा. रोसमण्ड लुइस भन्छन्, “यो रातो दागबाट सुरु हुन्छ। बिस्तारै डाबर बन्छ र हामीले छालामा छाम्दा पनि थाहा पाउँछौँ।” ती राता दागहरू बिस्तारै फोको जस्तो बन्छन् र पिपजस्तो सेतो तरलले भरिन थाल्छन्।
यी खटिराहरू बिस्तारै सुक्न थाल्छन् र पाप्रा बन्छन्। पाप्राहरू पनि बिस्तारै उप्किएर जान्छन्। “यस कारण यो ठेउला हो कि भनेर झुक्किन सकिन्छ,” डा. लुइस भन्छन्। मङ्कीपक्सको डाबर सबैभन्दा पहिले अनुहारमा देखा पर्छन्। कहिलेकाहीँ मुखमा पनि देखिन्छन्। त्यसपछि पाखुरा र खुट्टामा अनि जीउमा सर्दै जान्छन्।
पछिल्ला केही सङ्क्रमणहरूमा भने डाबरहरू यौनाङ्ग वरिपरि पनि देखा परेका छन्। डा. लुइस भन्छन्, “रौँले ढाकिएका कारण डाबरहरू नदेखिन पनि सक्छन्।”
छालाको रङ्ग अनुसार फरकफरक देखिने यो डाबरले तन्ना र लुगाहरूमा सङ्क्रमण छोड्न सक्छ। छाला रोगसम्बन्धी ब्रिटिस संस्थाकी सभापति डा. तान्या ब्लेकर भन्छिन्, “फरक प्रकारका डाबरहरू छुट्टाउन कठिन हुनसक्छ। यदि कुनै आशङ्का छ भने सल्लाह लिएर परीक्षण गराउनु उपयुक्त हुन्छ।” बीबीसीबाट