No Image Headlineअर्थमुख्य खबर

अयातकर्ताले गराएनन् भन्सार जाँचपास, वीरगञ्ज र रक्सौलमा थुप्रिए २ हजार ५ सय आयातित गाडी

Thrill Factory
Rungta Group

एक महीनाअघि आयातकर्ताले मालसामान नल्याएर भन्सार परिसर नै खाली हुने अवस्थामा पुगेको बताउने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल सोमवार भने भन्सार आयातित सवारीसाधनले भरिभराउ भइसकेको बताइरहेका थिए । ‘दिनदिनै नयाँ सवारीसाधन थपिएका छन्, भन्सार हातामा जता हेर्‍यो, गाडीमात्रै देखिन्छ । भन्सार क्षेत्रमा हिँड्नै नमिल्ने भइसक्यो,’ प्रमुख भन्सार अधिकृत पौडेलले सुनाए ।

विदेशबाट आयातित सवारीसाधन आयातकर्ता व्यवसायीले समयमै भन्सार छुटाएर नलैजाँदा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज र सीमापारि रक्सौलका गोदाममा यतिबेला २ हजार ५ सयको हाराहारीमा सवारीसाधन थुप्रिएका छन् ।

बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गाडीलगायत विलासी वस्तुको आयातमा कडाइ गरेपछि सवारीसाधनका लागि नयाँ प्रतीतपत्र (एलसी) खुल्ने र भन्सार छुटाउने काम ठप्प भएको थियो । मुख्य नाका वीरगञ्ज भन्सारबाट १ सातासम्म एउटै गाडी नछुट्ने अवस्था पनि आएको थियो । ‘अहिले भन्सार परिसरमा जाताततै गाडी नै गाडी देखिन्छन्,’ पौडेलले भने ।

सरकारले सवारीसाधन आयातलाई खुकुलो बनाएकाले भन्सारमा गाडीको चाप बढेको भने होइन । बरु सवारीसाधन आयातमा सरकारले कडा नीति लिँदै छ भन्ने सूचना चुहिएकाले त्यतिबेला खुलेका एलसीका सवारीसाधन अहिले धमाधम भित्रिइरहेको वीरगञ्ज भन्सारका एक अधिकारीले दाबी गरे ।

त्यतिबेला व्यवसायीले हतारमा खोलेका एलसीका गाडी अहिले भित्रिए पनि भन्सार छुटाउने पैसा नभएपछि गाडी भन्सार र आसपास क्षेत्रका गोदाममा थन्किएका हुन् ।

कडाइअघि खुलेका एलसीबाट अहिले भन्सारसम्म गाडी आइपुगे पनि आयात र गाडी कर्जामा कडाइ गरिएकाले बजारमा गाडीको माग नै नभएको व्यवसायीले बताउने गरेका छन् ।

आयातकर्ताले भित्र्याएका गाडीले भन्सारको यार्ड भरिए पनि जाँचपास भने नगराएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । भन्सारमा लाग्ने राजस्व तिर्ने पैसा नभएको भन्दै आयातकर्ताले गाडी थन्क्याएर राखेका छन् । ‘गाडी धमाधम भित्रिएका छन् । तर, आयातकर्ता राजस्व तिरेर गाडी लैजान पैसा छैन भन्छन्,’ उनले भने ।

आयातमा कडाइको सुइँको पाएर खुलेका एलसीबाट भित्रिएका गाडी आयातकर्ताले नछुटाएपछि वीरगञ्ज र सीमावर्ती भारतीय शहर रक्सौलका गोदाममा करीब २ हजार ५ सय थान थन्किएको भन्सार अधिकारीहरू बताउँछन् । तीमध्ये भन्सारको आईसीपी क्षेत्रमा करीब ८०० गाडी भएको पौडेलले जानकारी दिए । तीमध्ये ४०० जति जीप, कार हुन् । सोही हाराहारीमा ट्रक, बसका नयाँ चेसिस छन् । आयातकर्ता सिप्रदीको मात्रै रक्सौलस्थित गोदाममा १ हजार ट्रक, बसका नयाँ चेसिस छन् । रक्सौलमा ७ सयजति जीप, कार रहेको भन्सारका अधिकारीहरूले जानकारी दिए । आर्थिक अभियानबाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button