बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-९ मा शनिबार अटोमेटिक चाइनिज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन्।
सीमावर्ती भारतीय गाउँबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउन्ड गोली, १ थान म्याग्जिन २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउन्ड गोली बरामद भएको जनाइएको छ ।
पेस्तोल र गोलीसहित पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।