No Image Headlineदेशमुख्य खबर

सखुवाप्रसौनीमा कांग्रेस नेता सुरेन्द्र चौधरीको ‘म्याच फिक्सिङ’ : परिणाम भने उल्टो

कांग्रेस कार्यकर्ता आँसु झार्दै भन्छन्– भोट बैंकको कुरा गर्ने विद्वान नेता नोट बैंकको प्रभावमा परे

Thrill Factory
Rungta Group

नेपाली कांग्रेस पर्सामा प्रभावशाली मानिएका नेता सुरेन्द्रप्रसाद चौधरीमाथि पर्साका पालिकाहरूमा कांग्रेसको टीकट बितरणमा आर्थिक चलखेल गरेको गम्भीर आरोप लागेको छ । यस्तो आरोप कुनै विपक्षी दलबाट नभएर कांग्रेसकै कार्यकर्ताले लगाएका हुन् ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको प्रमुख पदमा आफ्नो दलबाट टीकट बितरणमा नेता चौधरीले विपक्षीको जीतलाई सघाउने गरी टीकट दिलाएको आरोप कांग्रेसकै स्थानीय नेता कार्यकर्ताले लगाएका छन् ।

यो अहिले पर्सा कांग्रेसमा चर्चाको विषय बनेको छ । सखुवा प्रसौनी गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट बलियो सम्भावना भएका नीर गिरीलाई टीकट नदिएर राजनीतिक प्रभावमा अति कमजोर मानिएका शैलेन्द्र यादवलाई दिलाएको आरोप चौधरीमाथि लागेको छ ।

सखुवाप्रसौनीका निवर्तमान प्रमुख प्रदीप जयसवालको जीतलाई सहज बनाउने गरी कमजोर उम्मेदवारको रुपमा यादवलाई उठाइएको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । जयसवाल जनता समाजवादी पार्टी (जसपा)बाट प्रमुखको उम्मेदवार हुन् ।

नेता चौधरी जयसवालको प्रभावमा परेर आफ्नो सहयोगीको रुपमा रहेका यादवलाई टीकट दिलाउन भूमिका खेलेर पार्टी र आम कार्यकर्ताको भानवामाथि खेलवाड गरेको कांग्रेस कार्यकर्ताले बताएका छन् ।

चौधरीले उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म नीर गिरीलाई टीकट दिने पक्कापक्की छ भन्दै आएकोमा भोलिपल्ट यादवलाई टीकट दिइएको कांग्रेस सखुवाप्रसौनीका कार्यकर्ता अजय साहले बताए । जित्ने उम्मेदवारलाई टीकटको आश्वासनमा अल्झाएर र खल्तीको मानिसलाई टीकट दिएर कांग्रेसलाई कमजोर पार्ने काम भएको साहको भनाइ छ ।

नीर गिरी कांग्रेसबाट सो पालिकामा प्रभावशाली नेता मानिएको र उनले टीकट नपाएपछि वडाध्यक्ष र सदस्यमा लडेका अन्य उम्मेदवार सेनापति विनाको सिपाहीजस्ता भएको कांग्रेसीहरु बताउँछन् । प्रमुख पदका उम्मेदवार चुनावी अभियानमा समेत सक्रिय नभएको र अधिकांश कार्यकर्ता उनको पक्षमा पनि नदेखिको बताइएको छ ।

नेता चौधरीले जसपालाई जिताउन ‘म्याच फिक्सिङ’ गरेको आरोप कांग्रेसकै कार्यकर्ताले लगाएका छन् । जनताको विश्वास भएको नेतालाई टीकट नदिएर उनको झोला बोक्ने र तरकारी बोक्नेलाई टीकट दिएको आरोप कांग्रेसका स्थानीय नेता अशेसर यादवले लगाए ।

यादवले आँसु झार्दै भने चौधरीले सखुवाप्रसौनीमा कांग्रेसले जितेको देख्न नचाहेकोले जित्ने उम्मेदवारविरुद्ध षड्यन्त्र गरे । भोट बैंकको कुरा गर्ने विद्वान नेता चौधरी रातारात नोट बैंकको प्रभावमा परे ।’

चौधरीमाथि आर्थिक चलखेलमा विपक्षीलाई फाईदा हुने गरी टीकट बितरणमा चलखेल गरेको कुरा कार्यकर्ताबाटै बाहिर आएपछि पर्साको राजनीति तरंगित भएको छ । कांग्रेस निकट बुद्धिजीवीहरूले यो विषयमा प्रश्न उठाएका छन् ।

नेपाल पत्रकार महासंघका सचिवसमेत रहेका कांग्रेसनिकट पत्रकार दीपेन्द्र चौहानले यो विषयमा पार्टीको धारणा आउनुपर्ने बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सखुवाप्रसौनीमा नेता सुरेन्द्रप्रसाद चौधरीले टीकट वितरणमा आर्थिक चलखेल गरेको आरोप लागेको छ । वास्तविकता को हो भन्नुप¥यो पार्टीले ।’

यसबारेमा नेता चौधरीसित बुझ्न खोज्दा उनले कुरा गर्न चाहेनन् । फोन सम्पर्कमा शुरुमा सहज रुपमा कुरा गरिरहेका चौधरीले सखुवा प्रसौनीको सन्दर्भमा प्रश्न गर्नासाथै भने, ‘म अहिले कार्यक्रममा छु । यसबारेमा पछि कुरा गर्छु ।’ यति भनेर उनले फोन काटे ।

तर, सखुवा प्रसौनीमा ‘म्याच फिक्सिङ’को परिणाम उल्टो देखिने सम्भावना बढेको छ । नीर गिरीलाई टीकट नदिएकोमा चित्त दुखाएका कांग्रेसी नेता कार्यकर्ताले एमालेका उम्मेदवार जसवन्त यादवलाई सघाउने मनस्थितिमा पुगेको बताइएको छ ।

यसो भएमा सो गाउँपालिकाको चुनावी परिणाम एमालेको पक्षमा जाने सम्भावना बलियो देखिएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । यता पोखरिया नगरपालिकाको टीकट बितरणमा पनि ठूलो चलखेल भएको कुरा कांग्रेसभित्र भुसको आगो झै फैलिइरहेको छ ।
वर्षौदेखि कांग्रेसमा योगदान गरेकालाई पाखा लगाएर नवप्रवेशी दीपनारायण रौनियारलाई टीकट दिलाउन चलखेल भएको विषयले पोखरियामा पनि कांग्रेस पछाडि धकेलिने चर्चा व्यापक रुपमा चलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button