No Image Headlineअर्थमुख्य खबर

बारा-पर्सा औद्योगिक कोरिडोरका उद्योगमा एक सातापछि बिजुली आपूर्ति

Thrill Factory
Rungta Group

बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगमा १ सातापछि विद्युत् आपूर्ति शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले बुधबार साँझदेखि उद्योगहरूमा बिजुली दिएको हो ।

भारतबाट विद्युत् ल्याउन नसकेको भन्दै प्राधिकरणले उद्योग क्षेत्रमा गत बुधवारदेखि विद्युत् काटेको थियो । शुरूमा प्राधिकरणले १२ देखि १६ घण्टासम्म विद्युत् कटौती हुने बताए पनि एक हप्तासम्म पूर्ण रुपमा बन्द गरेको थियो ।

विद्युत् नै नपाएपछि कोरिडोरका उद्योगको उत्पादन ठप्प भएको थियो । भारतबाट दैनिक ५०० मेगावाट ल्याएर आपूर्ति व्यवस्थापन गरिरहेकोमा उताबाट नआएपछि उद्योगमा बिजुली काटिएको थियो ।

कोइला अभावका कारण भारत आफै उर्जा संकटमा फसेपछि नेपालतर्फको निकासी बन्द गरेको थियो । भारतबाट बिजुली आउन बन्द भएकाले प्राधिकरणले घरायसी ग्राहकलाई आपूर्ति दिन औद्योगिक क्षेत्रमा लोढशेडिङ गरेको थियो ।

बुधवारदेखि उद्योगहरूमा विद्युत् आपूर्ति शुरू भएको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

प्राधिकरणको ११ र ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन थालिएको प्रमुख झाले बताए । ‘बुधवार साँझदेखि औद्योगिक कोरिडोरमा फेरि विद्युत् दिन थालिएको छ । अभावको समस्या छँदैछ, स्थायी समाधान भएको होइन,’ उनले भने ।

मंगलवार र बुधवारको वर्षाले खोलानालामा पानीको सतह बढ्न गई विद्युत् उत्पादन बढेकाले आपूर्ति केही सहज भएको उनले जानकारी दिए ।

ऊर्जा अभावमा एक हप्तादेखि बन्द बारा–पर्सा कोरिडोरका उद्योग अब चल्न थालेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । विद्युत् आपूर्ति नहुँदा कोरिडोरका सानाठूला गरी करीब २ हजार उद्योग एक सातादेखि बन्द थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button