No Image Headlineअर्थमुख्य खबर

आन्दोलन घोषणा गरेर विराटनगरका उद्योगीले पाए बिजुली, वीरगञ्जका उद्योगी किन चुप ?

Thrill Factory
Rungta Group

नेपाल विद्युत् प्राधिकरणले उद्योगमा बिजुली नदिएपछि पूर्वी क्षेत्रका उद्योगी व्यापारी आन्दोलनमा उत्रिए । उद्योगीले आान्दोलन घोषणा गरेपछि प्राधिकरणले त्यहाँ विद्युत आपूर्ति शुरु गरेको छ । प्राधिकरणले आफ्ना माग सुनुवाई गरेको भन्दै त्यहाँका उद्योगीले आफ्नो घोषित आन्दोलन स्थगित गरेका छन् ।

तर, देशको सबैभन्दा ठूलो औद्योगिक कोरिडोर वीरगञ्ज एक हप्ताभन्दा लामो समयदेखि उर्जाविहीन हुँदा पनि यहाँका उद्योगति व्यापारीहरु चुइक्क बोलेका छैनन् ।

बरा पर्साका उद्योगी व्यापारीहरुको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले आपूर्ति सुचारु गर्न एउटा मागपत्र निकालेको थियो । तर, आपूर्ति नभएको अवस्थामा के गर्ने भन्नेमा सशक्त आवाज बाहिर ल्याउन सकेको छैन ।

बारा पर्सा कोरिडोरका उद्योग एक साताभन्दा लामो समयदेखि अध्यारोमा छन् । उत्पादन ठप्प भएको छ । अर्बौ लगानीका खुलका उद्योग एकसातादेखि बन्द हुँदा दैनिक करोडौं नोक्सानी भइरहेको छ । ठूलो लगानीमा खुलेका उद्योग झन ठूलो समस्यामा छन् ।

तर, यो क्षेत्रका उद्योगी व्यापारीहरुबाट विद्युत प्राधिकरणको ध्यानाकर्षण हुने गरी दबाबको कुनै कार्यक्रम आउन सकेको छैन । जब कि, बिराटनगरका उद्योगीले आपूर्ति नगरे आन्दोलन थाल्ने वक्तव्य निकाल्नेवित्तिकै उद्योगमा आपूर्ति थालिएको छ ।

विराटनगरका उद्योगीले आन्दोलन घोषणा गरेर आपूर्ति सुचारु गराएको अवस्थामा वीरगञ्जजस्तो औद्योगिक हबका उद्यमीहरु चुप लागेर बस्दा प्राधिकरणले वीरगञ्जलाई उपेक्षा गरेको बुझाइ यहाँका आम उद्योगीहरुको छ । बिराटनगरले आन्दोलन घोषणा गरेरै भए पनि बिजुली पायो । वीरगञ्ज चुपचाप सहेर बस्ने हो भने केही पनि पाउँदैन, एक वरिष्ठ उद्योगीले भने ।

बारा पर्साका उद्योगपति व्यापारीहरुको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले यसका तत्काल प्रभावकारी पहल थाल्नुपर्ने आम उद्योगीको सुझाव छ । आवश्यक परे बारा पर्सामा विद्युत आपूर्तिका लागि कडा आन्दोलनसहित अघि बढ्नुपर्ने उनीहरु बताउँछन् ।

बारा पर्साका उद्योगी व्यापारीको हितका लागि काम गर्ने भनिएको वीरगञ्ज उद्योग वाणिज्य संघले कस्तो कदम चाल्छ, यसमा वीरगञ्जका उद्योगीहरुले निगरानी गरिरहेका छन् ।

विराटनगरका निजी क्षेत्रका तीन व्यवसायिक संगठनले चरणवद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए। गत शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै प्राधिकरणलाई वैशाख २० सम्ममा पूर्वका उद्योगलाई पनि पक्षपात नगरी विद्युत आपूर्ति सहज नबनाए चरणबद्ध आन्दोलनमा जाने बताएका थिए । प्राधिकरणले २० गते नै त्यसक्षेत्रमा विद्युत् आपूर्ति दिएर उद्योगीको आन्दोलन थामथुम पारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button