अर्थमुख्य खबर

खानेतेलको कच्चा पदार्थ आपूर्तिमै समस्या, २ दर्जन तेल उद्योग संकटमा

Thrill Factory
Rungta Group

रूस–युक्रेन तनावले कच्चा पदार्थ आपूर्तिमा समस्या झेलिरहेका स्वदेशी तेल उद्योगीमाथि अर्को समस्या थपिएको छ । अर्धप्रशोधित पाम आयल उत्पादक इन्डोनेशियाले त्यसको निकासी रोकेपछि उद्योगीहरू अन्योलमा परेका छन् ।

कोरोना महामारीका कारण उत्पादन घटेपछि विश्व बजारमा खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । कोरोनाको असर मत्थर नहुँदै खानेतेल उत्पादक प्रमुख देश रूस र युक्रेनबीच तनाव चुलियो ।

जसले खानेतेलको कच्चा पदार्थ आपूर्ति शृंखला अवरुद्ध भयो । यसैबीच, इन्डोनेशियाले अर्धप्रशोधित पाम आयल निकासी रोकेपछि समस्या झन् चर्किएको वीरगञ्जस्थित नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।

आन्तरिक बजारमा तेलको मूल्य नियन्त्रण गर्न इन्डोनेशियाले २८ अप्रिलदेखि पाम आयल निकासीमा रोक लगाएको छ । इन्डोनेशियाले मे ७ मा आफ्नो निर्णय पुनरवलोकन गर्ने भनेकाले आयातकर्ता पर्ख र हेरको अवस्थामा रहेको चाचान बताउँछन् ।

स्वदेशी उद्योगले इन्डोनेशियाबाट अर्धप्रशोधित पाम आयल ल्याएर प्रशोधन गर्छन् । नेपालमा उत्पादित तेलको ठूलो अंश भारत निकासी हुन्छ । पछिल्लो समय नेपालको निकासी व्यापारमा खानेतेलकै सबैभन्दा ठूलो योगदान छ ।

नेपालका करीब २ दर्जन उद्योगले तेल उत्पादन गर्छन् । कच्चा पदार्थको व्यवस्थापन नै चुनौतीपूर्ण भएको अन्नपूर्ण भेजिटेबलका सञ्चालक प्रभुदयाल अग्रवालले बताए । इन्डोनेशियाले १ महीनाअघि नै निर्यातमा नियन्त्रण गरेको अग्रवालको दाबी छ ।

‘निर्यात प्रतिबन्धको घोषणा गत हप्ता भए पनि अप्रिलको शुरूदेखि नै कन्साइन्मेन्ट डेलिभरीमा झमेला भइरहेको थियो,’ उद्यमी अग्रवालले भने ।

दुई महीनाभन्दा लामो समयदेखि चलिरहेको रूसको सैन्य कारबाहीले नेपाल आउने खानेतेलको कच्चा पदार्थ आपूर्ति अवरुद्ध भएको छ । नेपालका तेल उत्पादकले ८० प्रतिशतभन्दा बढी सूर्यमुखी र भटमासको तेल युक्रेनबाटै ल्याउँथे । रूससमेत सूर्यमुखी र तोरीको प्रमुख आपूर्तिकर्ता हो ।

सूर्यमुखी र तोरी आयात अनिश्चित भएपछि भटमासको तेलमा चाप बढेको आयातकर्ता बताउँछन् । कच्चा पदार्थ आपूर्तिमा समस्या आएकाले मूल्य आकाशिएको छ ।

खानेतेलको मूल्य बढेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । २ महीनाअघि प्रतिलिटर २५० सम्म रहेको खानेतेलको मूल्य अहिले ३०० रुपैयाँ पुगिसकेको रुंगटाले जानकारी दिए ।

भटमास तेलको उत्पादन लागत बढेको उद्योगी बताउँछन् । ‘युक्रेनमाथि रूसको सैन्य कारबाही शुरू हुनुअघि प्रतिमेट्रिक टन १९०० अमेरिकी डलर रहेको भटमासको अर्द्धप्रशोधित तेलको भाउ अहिले २१०० डलर पुगेको छ,’ चाचानले भने । आर्थिक अभियान 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button