
नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुखमा १० जना र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरेको छ ।
प्रमुखमा एमाले नेता मनोज पौडेल, सरस्वती चौधरी, एमाले नेताहरु कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेब चौधरी, प्रहलाद साह, राधेश्याम सिबाकोटी, बिस्वनाथ लामिछानेको नाम सिफारिस गरिएको छ ।


मनोज पौडेल गत स्थानीय चुनावमा पनि मेयरको प्रवल दावेदारको रुपमा रहेका थिए । अन्तिम समयमा एमालेले कृष्ण पौडेललाई उम्मेदवार बनाएको थियो । कृष्ण पौडेल मेयरमा निर्वाचित भए पनि उनको कार्यकाल अपेक्षित सफल नभएको विश्लेषण गरिँदै छ ।
सरस्वती चौधरी सोही कार्यकालमा उपमेयर चुनिएकी थिइन । मेयर पौडेल र उपमेयर चौधरीको स्वार्थको लडाईका कारण नगरमा विकास निर्माणको काम र सेवा प्रवाह सन्तोषजनक हुन सकेको थिएन ।
यतिबेला मनोज पौडेललाई उम्मेदवार बनाएमा एमालेले पुनः जीत निकाल्न सक्ने आँकलन गरिएको छ । विगत लामो समयदेखि एमाले बारामा जुझारु नेताको रुपमा विभिन्न जिम्मेवारी वहन गरेका युवा नेता पौडेल सबै मतादाताको मन जित्न सक्ने नेताको रुपमा चिनिएका छन् ।
त्यसैगरी उपप्रमुखमा नगर अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेनु रिमाल, अनिता चौधरी, एमाले नेता अशोक लामा, महिला नेत्री कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको छ ।