
वीरगञ्जका प्रतिष्ठित उद्योगपति सत्यनारायण क्याल प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगी क्याललाई राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहबीच सो पदक प्रदान गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले क्याललाई प्रवल जनसेवा श्री पदक प्रदान गर्ने घोषणा गरेको थियो ।



उद्योगी क्याल वीरगञ्जलाई मुख्य आधार बनाएर विगत साढे ३ दशकदेखि उद्योग क्षेत्रमा सक्रिय छन् । उद्योग व्यापारको क्षेत्र साथै समाज सेवामा क्यालले दिएको योगदानको कदर गर्दै सरकारले सो पद्वी प्रदान गरेको हो ।



उद्योगी क्यालले २०७२ सालको महाभूकम्प, हालैको कोरोना महामारीलगायतका विपत्ति र अन्य सामाजिक कार्यमा निरन्तर योगदान दिँदै आएका छन् ।
उद्योग व्यापार क्षेत्रमा लामो अनुभव भएका र समसामयिक अर्थिक सरोकारहरुमा राम्रो दख्खल राख्ने क्यालल मधेस प्रदेश सरकारका आर्थिक सल्लाहकारसमेत हुन् ।
आर्थिक विकासका क्षेत्रमा क्यालको अनुभव र योगदानका आधारमा प्रदेश सरकारले केही महीनाअघि मात्रै उनलाई साल्लाहकार नियुक्त गरेको थियो ।