वीरगञ्जमा आजदेखि २ दिने शैक्षिक प्रदर्शनी, भारतमा उच्च शिक्षा लिन चाहानेका लागि अवसर

वीरगञ्जमा आजदेखि २ दिने शैक्षिक प्रदर्शनी हुँदैछ । एक्स्पो प्रामिनेन्ट सर्भिसेज नेपाल र अफेयर्स एक्जिबिशन एण्ड मिडिया भारतको सहकार्यमा स्टडी इन इन्डिया एक्सपोको आयोजना गरेको हो ।



आज एक समारोहबीच कार्यक्रम उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगी छन् ।



प्रदर्शनी वीरगञ्जको होटल लर्डस् दियालोमा भइरहेको छ । वीरगञ्जका उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरी यो प्रदर्शनी आयोजना गरिएको हो ।



विद्यार्थी र तिनका अभिभावकले मेलामा भारतका २० वटा प्रमुख विश्व विद्यालय र कलेजहरुसँग अन्तरक्रिया गर्न सक्ने आयोजकले बताएको छ ।
ती विश्वविद्यालय र कलेजका पाठ्यक्रमहरू, योग्यता मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, र छात्रवृत्तिहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।
नेपाललगायत एसियाका विद्यार्थीहरूको ठूलो संख्यालाई प्रतिष्ठित भारतीय संस्थाहरूसँग जोड्ने लक्ष्य राखिएको अफेयर्स एक्जिबिशन एण्ड मिडिया प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जीव बोलियाले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, नेपाल भारत सहयोग मञ्च, नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टरले शैक्षिक प्रदर्शनीमा सहयोग गरेका छन् ।
प्रदर्शनीमा भारतमा उच्च मूल्याङ्कन गरिएका बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी मेसरा (राँची), भेल्लोर इन्स्टिच्युट अफ टेक्नोलोजी, मणिपाल विश्वविद्यालय, केआईआईटी विश्वविद्यालय (भुवनेश्वर), एमिटी विश्वविद्यालय (कोलकाता), आचार्य (बैंगलोर), शारदा विश्वविद्यालय (दिल्ली एनसीआर), जैन विश्वविद्यालय (बैंगलोर) लगायतको सहभागिता हुनेछ ।
स्टडी इन इण्डिया एक्स्पोले विगत १४ वर्षदेखि नेपालमा नियमित रूपमा शैक्षिक प्रदर्शनी आयोजना गर्दै आएको छ ।