
पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिसभा सदस्य हरिनारायण रौनियारको चरित्र हत्या गर्न खोजिएको भन्दै जनता समाजवादी पार्टीको क्षेत्रीय समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।



क्षेत्रीय अध्यक्ष नागेन्द्र प्रसाद यादवले शनिबार प्रेस विज्ञप्ति निकालेर रौनियारका बारेमा भइरहेको दुराशयपूर्ण कुप्रचारप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका हुन् । ‘केही व्यक्तिहरूको उक्साहटमा भइरहेको यस्तो क्रियाकलापको घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।



तत्कालीन सत्ताको दुराग्रहका कारण षड्यन्त्रमूलक तरिकाले माननीय रौनियारको व्यावसायिक संलग्नता नै नरहेको विवादमा उहाँमाथि मुद्दा चलाएर निलम्वनमा राखिएको भन्दै त्यसै विषयमा संसद सचिवालयले निकालेको सूचनाविरुद्ध माननीय रौनियारले सर्वोच्च अदालतमा दायर गर्नभएको रिट खारेज भएको विषयलाई तोडमोड गरी उहाँ चुनाव लड्न नपाउने भन्दै भइरहेको दुष्प्रचार खेदयोग्य भएको यादवले बताएका छन् ।



‘विशेष अदालतमा विचाराधीन रहेको विवाद टुंगो नलाग्दै माननीय रौनियारको राजनीतिक र व्यक्तिगत चरित्र हत्या गर्ने कुत्सित उद्देश्यले एकपक्षीय रुपमा भइरहेको यस किसिमको प्रपञ्चबाट कुनै प्रकारको द्विविधा र भ्रममा नपर्न आम पर्टी कार्यकर्ता तथा शुभेच्छुकहरूमा हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।