अर्थप्रदेशविशेष

देशको मुख्य प्रवेशद्वारको अस्तव्यस्त सडक, किन गरेनन् ठेकेदारले काम ?

देशको मुख्य प्रवेशद्धारको रुपमा रहेको वीरगञ्ज नाकाबाट भित्रिने जोकोहीले नाकाको सडक, सरसफाई र सुन्दरता हेरेरै नेपाल कत्तिको व्यवस्थित छ र यहाँको जीवनस्तर कस्तो होला भन्ने अनुमान लगाउँछ ।

तर, यो नाकाबाट भित्रिनेबित्तिकै जसको पनि यसमा सकारात्मक धरणा बन्न सक्दैन । अरु केहीले होइन, प्रवेशद्वारको जीर्ण र धराप सडकका कारण नेपालकै छवि बिगार्ने काम भइरहेको छ ।

भारतको रक्सौल शहरबाट छिर्नेबित्तिकै मितेरी पुलदेखि रजतजयन्ति चोकसम्मको करीब डेढ किलोमीटर बाटोको दुरावस्था यस्तो छ कि, वीरगञ्जकै बासिन्दालाई पनि सकभर त्यतातिर जानै नपरोस्जस्तो लाग्दछ ।

पिच भत्किएर खाल्डैखाल्डा भएको पुल, धुलाम्मे सडक, यत्रतत्र अस्तव्यस्त सवारी आवगमनले भर्खरै सौन्दर्यीकरण गरिएको शंकराचार्यद्वारलाई गिज्याइरहेको भान हुन्छ । सडकको दुरावस्थाका कारण आवागमनमा चरम सास्ती र दुर्घटनाको जोखिम बढेको छ ।

त्रिभुवनराजपथअन्तर्गत सडक विभागको अधिकारक्षेत्रमा पर्ने यो सडक मर्मतका लागि हालै लगाइएको ठेक्कासमेत यतिबेला अलपत्र परेको छ । सडक विभागले ६ वर्षपछि बल्लतल्ल सो सकडखण्ड मर्मतको ठेक्का लगाएकोमा त्यो पनि अघि बढ्न सकेको छैन ।

ठेकेदार कम्पनीहरूको स्वार्थको चेपुवमा परेको सडक यो वर्ष पनि मर्मत नहुने सम्भावना बढेर गएको छ । व्यापारिक मार्ग आयोजना पथलैयाले ३ महीनामा सक्ने गरी समा कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँमा मर्मत (कालोपत्रे)को ठेक्का दिएकोमा  ठेकेदारले काम शुरू गरेको छैन ।

आयोजनाले इ–बिडिङ गर्दा समालाई ठेक्का परेपछि प्रतिस्पर्धामा नआएको एक कम्पनी  मिलेमतोको आरोप लगाउँदै सर्वोच्चमा पुगेको थियो । सगमाथा इन्फ्राटेकका सञ्चालक दीपेशमान महर्जनले सर्वोच्च अदालतमा फागुन १३ मा रिट हालेका थिए ।

सर्वोच्चले ठेक्का यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख मनीषकुमार साहले बताए ।

सडकखण्डको १ दशमलव ३ किलोमिटर कालोपत्रे सर्वोच्चको आदेशपछि रोकिएको हो । आयोजनाले गत पुस ५ मा सडक मर्मतका लागि ३० दिनको समय राखेर ठेक्का आह्वान गरेको थियो ।

सो समयभित्र बिड नगरेका कम्पनीहरु समालाई ठेक्का परेको थाहा पाएपछि आयोजना कार्यालय, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी हाल्न पुगेका थिए ।

समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलम भने आफू काम अघि बढाउन तयार रहेको र निर्माण सामग्रीसमेत कार्यस्थलमा पु¥याइसकेको बताउँछन् । काम गर्न पाए १ महीनामै पूरा गर्ने उनले बताए ।

आयोजना र समाबीच फागुन २५ मा समा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । इबिडङमार्फत पारदर्शी रुपमा ठेक्का भएकाले कुनै प्रकारको मिलेमतो नभएको साहले बताए ।

अबको एक महीनापछि बर्खा शुरू हुने भएकाले सर्वोच्चमा विचाराधीन रहेको मुद्दा लम्बिएमा यो वर्ष काम नहुने सम्भावना बढेको आयोजनाले बताएको छ । अदालतले यही चैत २१ गतेका लागि पेशी तोकेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button