No Image Headlineअर्थप्रदेश

विद्युत् कटौतीको संकट, उद्योगहरुको उत्पादन आधा घट्यो

नेपाल विद्युत् प्राधिकरणले महँगो मूल्यमा समेत भारतबाट विद्युत् ल्याउन नसकेपछि देशको सबैभन्दा ठूलो औद्योगिक कोरिडोरका उद्योगले ऊर्जा संकट झेल्न थालेका छन् ।

बारा–पर्सा कोरिडोरका उद्योगमा एक हप्तादेखि अघोषित लोडशेडिङ भइरहेको उद्यमीहरूले बताए । यस क्षेत्रका उद्यमी, व्यवसायीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

कोरोना महामारीबाट थलिएका उद्योग, प्रतिष्ठान तंग्रिने प्रयासमा रहेका बेला आइपरेको ऊर्जा संकटले ठूलो मार पर्ने संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उद्योगहरू पुनरुत्थानतर्फ अग्रसर भइरहेकै अवस्थामा विद्युत् प्राधिकरणले अचानक लोडशेडिङ गर्दा संकट थपिएको छ । तत्काल लोडशेडिङ हटाउनु पर्छ,’ गुप्ताले भनेका छन् ।

उद्योगमा एक सातादेखि दैनिक ८ घन्टाभन्दा बढी विद्युत् कटौती भइरहेको उद्योगी राजेश क्यालले बताए । विद्युत् आपूर्ति भएकै बेलामा पनि न्यून भोल्टेज र पटकपटक विद्युत् काटिने समस्याले उत्पादन नराम्ररी प्रभावित भएको उनले गुनासो गरे ।

कोरिडोरमा करीब १ हजार उद्योग सञ्चालनमा रहेको उद्योगी बताउँछन् । बढी विद्युत् खपत गर्ने फलाम र सिमेन्टका २ दर्जन उद्योग तुलनात्मक रूपमा बढी प्रभावित भएका छन् ।

यस्ता उद्योगको उत्पादन आधाभन्दा पनि तल झरिसकेको सञ्चालकहरूले बताए । रुस–युक्रेन युद्धका कारण कोइलाको मूल्य बढेपछि भारतमा थर्मल प्लान्टबाट उत्पादन हुने बिजुलीको भाउ ह्वात्तै बढेको छ ।

भारु २० मा समेत भारतीय बजारमा बिजुली किन्न नपाएपछि प्राधिकरणले गत मंगलबारदेखि उद्योगमा लोडशेडिङ गर्दै आएको छ । भारतबाट चर्को मूल्यमा बिजुली किने पनि नेपालमा प्रतियुनिट ९ रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ ।

यसबाट दैनिक २२ करोड रुपैयाँ घाटा हुने भएकाले पिक आवरमा उद्योगमा विद्युत् आपूर्ति कटौती गरिएको प्राधिकरण बताएको छ ।

प्राधिकरणले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् काटिने बताए पनि दिउँसोसमेत नियमित आपूर्ति नभएको उद्यागीहरूको भनाइ छ ।

उद्योग चलिरहेको बेला विद्युत् काटिँदा उत्पादन बिग्रिने, कच्चा पदार्थ खेर जाने, उत्पादनको गुणस्तरमा ह्रास आउनेजस्ता समस्या आइपरेको उद्योगीको गुनासो छ ।

अहिले विद्युत् माग ३१ हजार मेगावाट आवर माग रहेको प्राधिकरणले बताएको छ । त्यसमध्ये १२ हजार मेगावाट आवर विद्युत् भारतबाट आयात हुने गरेकोमा उताबाट आपूर्ति नभएपछि समस्या देखिएको हो । आर्थिक अभियान

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button