
बैशाख ३० को मिति नजिकिँदै जँदा स्थानीय तह निर्वाचनप्रति आमचासो बढिराखेको छ । निर्वाचनको दिन जतिजति निकट आइराखेको छ, त्यति नै चुनावी सरगर्मी उत्कर्षउन्मुख भइराखेको छ । यतिखेर कुन तहमा को प्रतिस्पर्धामा उत्रिने हो, यसमा तीव्र चासो देखिएको छ । यसैबीच आज हामीले प्रदेश २ को एकमात्र महानगर वीरगञ्जको मेयरको कुर्सीका अकांक्षीमध्येका प्रकाशकुमार उपाध्यायलाई पेश गरेका छौं ।



प्रकाशकुमार उपाध्याय वीरगञ्जको राजनीतिक वृत्तमा निकै चिरपरिचित नाम हो । विद्यार्थी कालदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका उपाध्याय पार्टी राजनीतिमा स्पष्ट वक्ता र चिन्तनशील नेताको रुपमा चिनिन्छन् ।



प्रकाशलाई राजनीतिमा इमान र निष्ठाको प्रतिमूर्तिका रुपमा चिनिन्छ । विद्यार्थी र पार्टी राजनीतिमा दूर दृष्टिकोण र वैचारिक व्यक्तित्वको छवि बनाएका उपाध्याय त्यतिबेला चार्चाको चुलीमा पुगे, जतिबेला काठमाडौमा चुनाव जित्न नसकेका कृष्णप्रसाद भट्टलाईलाई उनले २०५६ सालमा पर्सा १ बाट संसदीय चुनाव जिताएर पठाए ।



पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति रहेका उपाध्याय त्यतिबेला कृष्णप्रसाद भट्टराईको सारथीको रुपमा चुनावी अभियभानमा होमिएका मात्र थिएनन्, भट्टराईलाई उनैले वीरगञ्जमा चुनाव लड्न आमन्त्रण गरेर त्यस बखत प्रधानमन्त्रीको रुपमा चुनाव जिताएका थिए ।
पर्साबाट चुनाव लडेर भट्टराई प्रधानमन्त्री भएका बेला उपाध्यायले चाहेको भए राम्रै राजनीतिक लाभ कुम्ल्याउन सक्ने थिए । तर, उनीमा त्यो लालच कहिल्यै पनि प्रकट भएन । रिक्सा, ठेला मजदूर युनियनको समेत अगुवाइ गरेका उनी भुइँ तहका मानिसको पीडा बुझ्ने नेताको रुपमा चिनिन्छन् ।
प्रत्येक पटक भएका लोकतान्त्रिक आन्दोलनमा जेलनेल र राज्यबाट प्रताडना भोगेका उपाध्यायले आफ्नो दल सत्तामा रहँदा, यतिसम्म कि आफ्नै नेतृत्वमा चुनाव जिताएर पठाइएका कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदासमेत कुनै लाभको अपेक्षा गरेनन्, लिएनन् ।
समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका उनले समाजका हरेक पक्षलाई पर्गेल्ने ल्याकत राख्दछन् । आफ्नो लेखनीको माध्यमबाट समसामयिक राजनीतिमा स्पष्ट दृष्टिकोण राख्दै आएका छन् ।
नेपाली कांग्रेसको स्थानीय र केन्द्रीय राजनीतिमा समेत आफ्नो सफल र सम्मानजनक उपस्थिति दर्ज गराउँदै आएका उपाध्याय अहिले नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरको मेयरमा आकांक्षी छन् ।
यसो त कांग्रेसबाटै विगतको निर्वाचनमा पराजित भएका अजय द्विवेदीदेखि राजेन्द्रबहादुर अमात्यलगायतका अन्य नेताहरुको नाम चर्चामा सुनिने गरेको छ ।
तर, कांग्रेसभित्रैबाट पनि राजनीतिक, सामाजिक र आर्थिक विकासका सन्दर्भमा अब नयाँ अनुहार र वैचारिक रुपमा स्पष्ट तथा बलियो दाबेदारको रुपमा प्रकाशको सम्भावनालाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ ।