मुख्य औद्योगिक कोरिडोरको सिमरा सेजमा किन देखिएन उद्योगीको आकर्षण ?

देशकै मुख्य औद्योगिक कोरिडोरसँगै रहेर पनि बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा लगानीकर्ताको आकर्षण देखिएको छैन । जब कि, यो कोरिडोरमा नयाँ उद्योगका लागि उपयुक्त जग्गा नपाएर उद्योगी समस्यामा परेका छन् ।



यसबारेमा आज सेज प्राधिकरणले बारा-पर्साका उद्योगी व्यापारीसँग छलफल गर्ने भनेकोमा अन्तिम समयमा आएर कार्यक्रम रद्ध भएको जानकारी वीरगञ्ज उद्योग वाणिज्य संघले दिएको छ ।



विगतमा सरकारले सोही संरचनामा गार्मेन्ट प्रोसेसिड जोन बनाएर लगानी आह्वान गरेकोमा लगानीकर्ता नआएपछि खारेज गरेको थियो । सेज प्राधिकरणले अहिले सेजमा लगानी आह्वान गरेको छ ।



भैरहवा सेजमा प्लटभन्दा बढी आवेदन आए पनि मुख्य औद्योगिक कोरिडारमै रहेको सिमरामा आकर्षण कम देखिएको छ । प्राधिकरणले यसको कारण खोतलेर सहजीकरणको प्रयास गरेको छ ।
सिमरा सेजमा उद्योग स्थापनाका लागि खुलाइएका ६८ प्लटमध्ये २७ ओटा उद्योग स्थापनाका लागि प्रस्ताव परेको छ । प्रस्तावित उद्योगको कुल लगानी १ अर्ब ५० करोड छ । सिमरा सेजमा यी उद्योग सञ्चालन हुँदा करीब ७०० जनाले रोजगारी पाउने अनुमान प्राधिकरणको छ ।
भैरहवा सेजमा भने प्लटभन्दा बढी उद्योगहरूले आवेदन दिएका छन् । भैरहवा सेजमा ४५ ओटा प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव माग भएकोमा ५५ ओटा उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । यी उद्योगको प्रस्तावित कुल लगानी ७ अर्ब ५० करोड रहेको छ । भैरहवा सेजका लागि प्रस्तावित उद्योगहरू सञ्चालनमा आउँदा करीब २ हजारले रोजगारी पाउने बताइएको छ ।
यस्ता छन् नीतिगत सुधार
सेजमा उद्यागी आकर्षित नभएपछि सरकारले ऐन संशोधन गरी लगानी आकर्षणको नीति लिएको छ । विशेष आर्थिक क्षेत्र ऐन संशोधन, भाडादर आधा घटाउने र निर्यात सीमामा पनि लचिलो नीति लिएको हो । योसँगै सेजमा उद्योग स्थापनाका लागि आकर्षण बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
सिमरा सेजमा प्रस्ताव आएकामध्ये कृषि प्रशोधनसम्बन्धी, अग्र्यानिक फर्टिलाइजर र पेस्टीसाइज बनाउने, सिसाका सामग्री र इलेक्ट्रोनिक स्कुटर बनाउने उद्योग छन् ।
उद्योग सञ्चालनको २ वर्षसम्म उद्योगी तथा व्यवसायीहरूले निर्यात गर्न नपर्ने र यो अवधिमा व्यवसायीहरूले बजार खोज्न सक्ने भएकाले सहज देखिएको छ । पहिला उद्योग स्थापनाको दोस्रो वर्ष नै ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान थियो । जसले गर्दा उद्योगीहरू पछि हटेका थिए ।
सरकारले यसलाई सच्याउन लागेको छ । उद्योग स्थापनाको ३ वर्षमा २०, चौथोमा ४० र ५ वर्षमा ६० प्रतिशतसम्म उत्पादन निर्यात गर्ने प्रावधान बनाउन लागिएको छ ।
३ महीनाभित्रै ऐन संशोधन हुने र त्यसमा यी निर्यातको सीमालाई संशोधन गरिने प्राधिकरणले जनाएको छ । १ हप्तामा भाडादरका विषयमा निर्णय गरिनेछ । अहिले प्रतिस्क्वार मीटरको २० रुपैयाँ भाडालाई १० रुपैयाँमा झार्ने तयारी छ । उद्योगले १ वर्षभित्र सेजमा उद्योग सञ्चालन गरिसक्नुपर्छ ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने क्रममा रहेकाले भैरहवाबाट निर्यात सहज हुने देखिएपछि उद्योगीहरू त्यसतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।
सिमरानजिकै प्रतावित निजगढ विमानस्थलको काम द्रुत गतिमा बढाउने हो भने सिमरा सेजमा पनि लगानीकर्ता आकर्षित हुन सक्ने बारा पर्साका उद्योगीहरु बताउँछन् । बाह्य बजारमा प्रतिस्पर्धा गर्न ढुवानी छिटोछरितो र प्रतिस्पर्धी हुनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमको भनाइ छ ।