यस्ता छन् खुशी रहने ५ तरिका
”खुशी हुन का लागि सचेत प्रयासको आवश्यकता पर्ने कुरा विज्ञानले प्रमाणित गरेको छ,”अमेरिकास्थित यल विश्वविद्यालयमा मनोविज्ञान र संज्ञात्मक विज्ञानका एकजना प्राध्यापक लोरी सान्तोस बताउँछिन्।
१. कृतज्ञताको सूची
सान्तोसले हरेक दिन विद्यार्थीहरूलाई आफू के कुरामा कृतज्ञ छु भन्ने कुरा लेख्न लगाउँछिन्। यस्तो प्रक्रिया एक हप्तासम्म चल्छ।
ुयो कुरा सुन्दा सहज सुनिन सक्छ। तर हामीले उक्त प्रक्रिया निरन्तर रूपमा गर्ने अभ्यास गर्ने विद्यार्थीहरू बढी खुशी भएको पाएका छौँ,ुु सान्तोसले भनिन्।
२ .धेरै सुत्ने
सुन्दा सामान्य लागे पनि सान्तोसका अनुसार यो अभ्यासको पूर्ण रूपमा पालना गर्न भने निकै गाह्रो छ। एक हप्ताका लागि पूर्णरूपमा आठ घण्टासम्म सुत्नुपर्ने हुन्छ।
सुन्दा असहज जस्तो लागे पनि पर्याप्त मात्रामा सुत्नाले डिप्रेसन जस्तो रोगबाट बच्न र सकारात्मक दृष्टिकोण वृद्धि गर्नका लागि समेत सहयोग गर्छ, सान्तोसले भनिन्।
३. कम्तीमा १० मिनेट ध्यान
सान्तोस आफैँ विद्यार्थी हुँदा ध्यान बस्नाले राम्रो महसुस भएको बताउँछिन्। र, प्राध्यापक भइसकेपछि उनले आफ्ना विद्यार्थीलाई ध्यान र अन्य गतिविधिबारे गरिएको विभिन्न अध्ययनबारे उल्लेख गर्ने गरेकी छन्।
त्यस्ता गतिविधिले सुखी रहन सिकाउने उनको भनाइ छ।
४. परिवार र साथीसँग धेरै समय बिताउने
हालै गरिएका अनुसन्धानहरूका अनुसार परिवार र साथीहरूसँग धेरै समय बिताउँदा थप खुशी हुन सघाउ पुग्छ। स्वस्थ, पारस्परिक र सामाजिक सम्बन्ध हुनुले तपाईँको भलाइ गर्छ।
सान्तोसका अनुसार यसो गर्न त्यति गाह्रो छैन। हरेक पल बाच्नूस् र आफ्नो समय कसरी बिताउने भन्नेबारे सजग रहनुस्, उनी भन्छिन्।
तपाईँको खुशीका लागि समयको अवधारणा निकै महत्त्वपूर्ण छ। हामीले प्रायःजसो धन भन्नाले हामीसँग कति पैसा छ भन्ने कुरासँग जोडेर हेर्ने गर्छौँ, सान्तोस भन्छिन्।
तर विभिन्न अनुसन्धानले के बताउँछ भने धन भन्नाले आफूसँग कति समय छ भन्ने विषयसँग सम्बन्धित छ।,
५. वास्तविक सम्बन्ध विस्तार
सान्तोसका अनुसार सामाजिक सञ्जालबाट प्राप्त हुने झुटो खुशीमा बहकिनु हुँदैन। इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्नेहरू त्यस्ता किसिमका सञ्जालहरू कम प्रयोग गर्नेहरूको तुलनामा कम खुशी हुन्छन् भन्ने कुरा एउटा अनुसन्धानले देखाएको छ, सान्तोस भन्छिन्।
यदि तपाईँ साँच्चिकै सुखी हुन चाहनुहुन्छ भने आभारी हुन सिक्नुहोस्। परिवारका सदस्य तथा साथीभाइसँग भेटधाट गर्नुहोस्। केही मिनेटका लागि भए पनि दिमाग खुल्ला राख्नुहोस्। सामाजिक सञ्जालको प्रयोग घटाउनुहोस् र बढी सुत्नुहोस्।