वीरगञ्ज महानगरको सार्वजनकि सुनुवाइ, मेयर सरावगीको आग्रह-सक्षम नेतालाई जिताउनुहोस्

वीरगञ्ज महानगरपालिकाको चालु आर्थिक वर्ष २०७८/७९ को दास्रो सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।



वीरगञ्ज महानगरको वडा नम्बर ४ बिर्तामा सोमबार भएको कार्यक्रममा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सीमित स्रोत साधनका बाबजुद वीरगञ्जको विकासमा उल्लेख्य काम गरेको दाबी गरे ।



आफू महानगरको नेतृत्व सम्हाल्न आउँदा ३६ करोड ऋण र १७ करोडमात्रै आम्दानी रहेकोमा अहिले ऋण चुक्ता गरेर महानगरलाई विकासको बाटोमा अग्रसर गराएको पनि प्रमुख सरावगीले बताए । ‘वीरगञ्जमा अब विकासको बाटो तयार भएको छ । यसलाई अघि बढाउन कुशल चालक (मेयर)को खाँचो छ । आसन्न स्थानीय चुनावमा जनताले सक्षम नेतृत्व छानेर विकासलाई अघि बढाउने विश्वास लिएको छु,’ उनले भने ।



आफू व्यापार छोडेर वीरगञ्जको समृद्धि र विकासका लागि राजनीतिमा आएको दाबी गर्दै सरावगीले आगामी चुनावमा वीरगञ्जमा आफूभन्दा सक्षम व्यक्ति अघि सरेमा उसलाई सघाउनेसमेत बताए । ‘पार्टीले टीकट दियो भने म मेयरमा पुनः लड्छु । प्रतिस्पर्धामा मभन्दा अन्य कोही सक्षम आउँछ भने म पछि हटेर उसलाई सघाउँछु । मलाई पद होइन, वीरगञ्जको विकास र सुन्दर भविष्य चाहिएको छ,’ उनले भने ।
वीरगञ्जको मेयरमा चुनिएपछि विगत साढे ४ वर्षमा थुप्रै काम भएको दाबी उनले गरे । ‘फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र सेवाका क्षेत्रमा उल्लेखनीय काम भएको छ । तर, महानगरको सीमित स्रोत र यसैबीचमा कोरोना महामारीले हामीलाई सोचेजति काम गर्न दिएन,’ उनले भने ।
समयान्तर मिडिया प्रालिले संयोजन गरेको कार्यक्रमका सहभागीले महानगरबाट जनताले अपेक्षित विकास र सुधारको अनुभूति पाउन नसकेको बताए । स्वास्थ्य, शिक्षा, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकताको पूर्तिमा कमजोरी रहेको उनीहरुले औंल्याए ।
जनस्तरबाट आएका रचनात्मक सुझावलाई महानगरले आत्मसात गरी सुधार गर्ने पनि सरावगीले प्रतिवद्धता जनाए ।
कार्यक्रम वीरगञ्ज वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानुको अध्यक्षतामा भएको थियो । उनले सीमित स्रोतका कारण वडामा सोचेजति विकास निर्माणका काम गर्न नसकेको बताए ।