No Image Headlineप्रदेशविशेष

तराईमा फगुवा : गाँसिदै सम्बन्ध, माँसिदै मौलिकता

Thrill Factory
Rungta Group

फगुवा अर्थात् होली तराई/मधेसको मुख्य पर्वमात्र होइन । यो आपसी सद्भाव र रङको उत्सवको पनि हो । नेपालको तराईमा पहाडी क्षेत्रभन्दा एक दिनपछि यो पर्व मनाइन्छ ।

होलीलाई आफन्तबीच भेटघाट र उमङ्गको अवसरको रूपमा पनि लिइन्छ । यो पर्वमा टाढाटाढाबाट परिवारका सदस्य र आफन्तहरू भेटघाटका लागि एक ठाउँमा भेला हुन्छन् ।

आपसमा रङ दलेर मान्यजनबाट आशीर्वाद लिई शुभकामना आदानप्रदान गर्दछन् । यो पर्वलाई आपसी रीसराग त्यागेर सुमधुर सम्बन्ध विस्तारको पर्वको रुपमा समेत लिइन्छ ।

काम विशेषले टाढाटाढा रहेका परिवारका सदस्य यो बेला होली मनाउन घर फर्किने भएकाले यो पर्व मिलनको अवसर पनि हो । फगुवामा परिवारका सबै सदस्य, आफन्त र साथीसङ्गी भेला भएर आपसमा रमाइलो गरी मीठो परिकार खाने चलन छ ।

तराई/मधेसको राजनीतिक र सांस्कृतिक मामिलामा जानकार बुद्धिजीवी चन्द्रकिशोर फागु पर्व यो क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायका बासिन्दाबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बन्न पुगेको बताउँछन् ।

राजनीतिक रूपमा समुदायबीच बढ्दो दूरी यस्ता सांस्कृतिक अवसरहरूले घटाउने विश्वास पत्रकार चन्द्रकिशोरको छ । यो क्षेत्रमा मनाइने फागु पर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरीलाई मेट्दै आपसी सद्भाव र सम्मान अभिवृद्धिमा सघाउ पु¥याएको दाबी पत्रकार चन्द्रकिशोरको छ ।

पर्वले समुदायको बीचमा बढाएको अपसी अन्तर्घुलन र उल्लासलाई प्रवद्र्धन गरी अझ प्रगाढ र बलियो बनाउन सक्नुपर्ने उनको भनाइ छ । पछिल्लो समयमा होली पर्व सामूहिकता प्रदर्शनको माध्यम बनेको बुझाइ जानकारहरूको छ ।

‘यो पर्वले यहाँका विभिन्न समूदायलाई आपसमा जोड्ने काम गरेको छ,’ चन्द्रकिशोर भन्छन्, ‘होलीको संस्कृति र परम्पराले समुदायबीचको आर्थिक र सामाजिक दूरी घटाउने कामसमेत गरेको छ । यो अन्यन्त सकारात्मक पाटो हो,’ चन्द्रकिशोर बताउँछन् ।

तराई क्षेत्रमै पनि स्थानअनुसार फगुवाको संस्कृतिमा विविधता रहेको जानकारहरू बताउँछन् । यस क्षेत्रका लोकसंस्कृतिका बारेमा जानकार सञ्चारकर्मी रीतेश त्रिपाठी पछिल्लो समयमा होलीको सांस्कृतिक पक्ष अतिक्रमित हुन पुगेकोमा भने चिन्ता व्यक्त गर्दछन् ।

‘होलीअगावै गाउँघर र शहरका गल्लीहरूमा गुञ्जिने होलीका परम्परागत सङ्गीत ‘होरी’ अहिले सुन्न पाइँदैन,’ बढ्दो आधुनिकतासँगै यो चाडको सांस्कृतिक विशेषता ओझेलमा पर्न गएको त्रिपाठी बताउँछन् ।

हिन्दी सिनेमाको देखासिकीमा होलीका गीतका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएका छन् । परम्परागत गीत गाउने चलन लोप भएर गएको छ । तराईमा प्रचलित लोकबजाहरू ढोलक, डम्फा, झाल र मञ्जिरी बजाएर गाइने होलीका गीत अहिले विरलै सुन्न पाइँन्छ ।

होलीको बाहानामा मादक पदार्थ सेवन र यसबाट आपसी झैझडाका घटनाहरू बढ्न थालेका छन् । यसले विभिन्न विकृति र विसंगतिलाई पनि बढाएको छ ।

‘होली मिलन’का नाममा आयोजना हुने समारोहमा बजाइने बनिबनाउ गीतको चर्को अतिक्रमणले फगुवाको लोक संस्कृति लोप हुँदै गएकोले जगेर्नामा जागरुक हुनुपर्ने धारणा पत्रकार त्रिपाठीको छ ।

पहिला श्रीपञ्चमीलगत्तै गाउँघरमा होली गाउने चलन थियो । गाउँघरमा होलीको धार्मिक मान्यतामा आधारित सांस्कृतिक गीतहरू सुनिन्थ्यो । तर, त्यो मौलिकता अहिले देख्न पाइँदैन ।

विभिन्न प्रसारण र सञ्चारमाध्यममा होली गीत भनेर बजाइने अहिलेका गीतमा परम्पराको छनकसमेत नपाइने दाबी जानकारहरूको छ ।

होली मनाउने तौरतरीका पनि फेरिएको बुझाई पत्रकार चन्द्रकिशोरको छ । कृषिमा आधारित पर्वहरूमा अहिले आधुनिकताले प्रवेश पाएको छ ।

अधिकांश पर्वहरू कृषिमा आधारित भए पनि खेतिपाती गर्ने मानिसको सङ्ख्यामा कमी आएपछि विस्तारै यस्ता लोकसांस्कृतिक परम्परा ओझेलमा पर्दै गएको हो ।

पहिले तराईमा १ महीनाअगावै होलीको माहोल शुरू हुने गरेकोमा अहिले यसको रौनक २/४ दिनमा सीमित हुन पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button