No Image Headlineअर्थप्रदेश

नेपाली रेल : बाँदरको पुच्छर, लौरो न हतियार

निकै चर्चा परिचर्चा भएको नेपालको रेल यतिबेला बाँदरको पुच्छर, लौरो त हतियार जस्तै भएको छ ।

लामो समयदेखि त्रिपाल ओढाएर रार्खिको रेल खिया लागेर बिग्रिने अवस्थामा पुगेपछि पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको थियो ।

नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ ।

खर्च धान्न नसकेपछि अब दिन बिराएर चलाइने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीबाट उद्घाटन गरिने भनिए पनि उद्घाटन नै अन्योलमा परेको छ । उता रेल सञ्चालनसम्बन्धी कानून पनि आउन सकेको छैन ।

गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।

होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उनले बताए । रेल गुडिरहे पनि आम्दानी भएको छैन ।

महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताए । रेल गुडाउने अध्यादेश निष्कृय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको पनि उनले बताए ।

‘हामीले आफ्नो तर्फबाट सबै तयारी गरिसकेका छौं,’ उनले भने, ‘कर्मचारी नियुक्त भइसकेका छन् । भाडादर पनि निर्धारण गरिसकेका छौं । तर, कानुनको अभावमा यात्रुलाई बोकेर गुडाउन सकिएको छैन ।’

उनले संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै सम्भवतः सोमबारसम्म अध्यादेश आउने बताए । अध्यादेश आएर कानुन बनिसकेपछि उद्घाटन भएर रेल सेवा नियमित हुने उनले बताए ।

झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा रेलको उद्घाटन गराउने तयारी भएपनि कानुनकै अभावमा हुन नसकेको बताए ।

जनकपुर(जयनगर रुटमा रेल सन्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो ।

भारतको कोन्कर रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

नेपाल रेल्बे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन छ । प्रतिघण्टा १ सय १० किलोमिटरको गतीमा गुड्नसक्ने क्षमताको यो रेलले एकपटकमा करीब १३ सय यात्रुहरु बोक्न सक्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button