
विश्व उपभोक्ता अधिकार दिवस पर्साको ठोरीमा सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले सो कार्यक्रम आयोजना गरेको हो ।



ठोरी गाउँपालिकाको वडा नम्बर २ स्थित सरस्वती माध्यमिक विद्यालयबाट चेतनामूलक प्रभातफेरी शुरु भएको थियो । ठोरीको गौतमनगर स्थित चोकबजारमा पुगी कोणसभामा परिणत भएको थियो ।



सरस्वती माविका प्रधानाध्यापक केशव प्रसाद रेग्मीले गुणस्तरी समान पाउनु उपभोक्ताको अधिकार भएको बताए । ‘उचित मुल्य तिर्न तयार छौं, गुणस्तरीय सेवा र बस्तु पाउनुपर्छ ।’ उनले भने ‘ व्यापारी र राज्यले त्यसको सुनिश्चितता गर्नुपर्छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले एउटा बस्तुको बिक्रेताअर्को बस्तुको उपभोक्ता नै हुने बताए । ‘ बजार अनुगमनका क्रममा गल्ती भेटिन्छ, नाफा २० प्रतिशत लिनु भनेकै छ । ब्रम्हलुट गर्न खोजे त कारबाही हुन्छ ।’ उनले भने ‘ एउटै उपभोक्तालाई ठगेर कमाउँछु भन्ने सोच्नु गलत हो ।’ स्थानीय तहले पनि ऐन कानुन ल्याएर उपभोक्ता हकहितलाई ध्यान दिनुपर्ने उनको भनाई छ ।
ठोरी गाउँपालिकका अध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायी आफ्नो दायित्व र उपभोक्ता अधिकारबारे सचेत हुनुपर्नेमा जोड दिए । उनले नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागु हुन नसकेको बताए ।
उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेको बताउँदै उनले उपभोक्ताले मूल्य तिरे अनुसारको सेवा, गुणस्तरीय सामान पाउनुपर्ने अधिकार कुण्ठित हुनबाट जोगाउन सबै पक्ष चनाखो हुनु पर्ने बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निमित्त कार्यालय प्रमुख दिलीप खंग खत्वेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रका व्यवसायी र सर्वसाधारणलाई उपभोक्ताको अधिकारका बारेमा जानकारी दिन गाउँमुखी कार्यक्रम सञ्चालन गरेकोमा वाणिज्य कार्यालयलाई धन्यवाद दिए ।
कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष किशोर तामाङ, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का उपभोक्ता हक हित संरक्षण मञ्च वीरगञ्ज महानगर अध्यक्ष अजित भुजेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण वाणिज्य कार्यालय वीरगंजका नासु रामप्रवेश यादवले गरेका थिए । प्रभातफेरीमा सहभागीले ढक तराजु, लिटर र मिटर ठिक राखौं ।, आफूले खरिद गर्न लागेको बस्तुमा नाप तौल उल्लेख छ, छैन र खुल्ला बस्तु नाप तौल गरेर मात्रै खराद गरौं ।, उपभोक्तालाई अनिवार्य रुपमा बिल दिऔं ।,अनुचित नाफा नकमाऔं ।, मूल्य तौल र गुणस्तरबाट ठगिएमा जिल्ला प्रशासन कार्यालयमा खबर गरौं । उपभोक्ताले देख्नेखरि बिक्रि स्थलमा अनिवार्य मूल्यसूची राखौं । लगायत नारा लेखिएका सचेतनामुलक प्ले कार्ड बोकेका थिए ।