
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा प्लास्टिकको ड्रमभित्र बम भेटिएका छन् । २ नम्बर वडाको बुर्की सल्लामा द्वन्द्वकालीन अवस्थामा राखिएका बम भेटिएको बताइएको छ । ड्रमभित्र कति बम छन् भन्ने यकिन भइसकेको छैन ।



बिहीबार गाई चराउन गएका गाउँलेले बम भेटेका थिए । वडाध्यक्ष जीवन केसीले ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा बम भेटिएको बताए । पुरानो ड्रमभित्र राखिएका बमको संख्या यकिन नभए पनि एक दर्जन जति बम हुनसक्ने आकलन गरिएको वडाध्यक्ष केसीले बताए ।



सुरक्षा खतराको कारण स्थानीयहरूले ड्रम खोतल्न सकिरहेका छैनन् । अहिले उनीहरूले नेपाली सेनालाई खबर गरेका छन् । शुक्रबार १० बजेसम्म नेपाली सेनाको टोली पुग्ने जनाइएको छ ।



जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बम भेटिएको क्षेत्रतर्फ नेपाली सेनाको टोली गएको जानकारी दिए । बम भेटिएपछि इलाका प्रहरी कार्यालय नायगाडको छोली घटना स्थलको सुरक्षा गरिरहेको छ ।