खबर फटाफटप्रदेश

पर्यटन प्रवर्द्धनका लागि पर्सा निकुञ्जमा साइक्लिङ प्रतियोगिता

पर्सा राष्ट्रिय निकुञ्जका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि निकुञ्जमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ ।

महाशिवरात्रि र नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको वीरगञ्ज महानगरपालिकामा नगर प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका थिए ।

बारा पर्साका प्रतियोगीहरूको सहभागिता रहेको प्रतियोगितामा साइक्लिङ गर्ने दूरी ३९ किलोमिटर रहेको नेपाली सेना सिद्धिबक्स गण आधाभारका मेजर कमानसिंह गुरुङले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख सरावगीले पर्यटनको नयाँ गन्तव्यको रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताए ।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्यको खाँचो समेत उनले औंल्याए । वीरगञ्ज क्षेत्रको सबैभन्दा नजिकको पर्यटकीयस्थल पर्सा राष्ट्रिय निकुञ्जलगायत आसपासका पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा उनले जोड दिए ।

नेपालको प्रमुख प्रवेशद्वार भएको वीरगञ्ज महानगरपालिकाले यसबाट फाइदा लिन सक्ने विश्वास उनले व्यक्त गरे ।

वीरगञ्ज भएर नेपाल भित्रिने पर्यटकलाई पर्सा निकुञ्जबारे पर्याप्त जानकारी गराउनुपर्ने र उनीहरूलाई कम्तीमा २ दिन वीरगञ्जका होटलमा राख्न सके होटल व्यवसायको प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान पुग्ने सरावगीले बताए ।

महानगरपालिकाले उक्त प्रतियोगिताका लागि ५ लाख रुपैयाँ सहयोग गरेको थियो । उद्घाटनमा मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङलगायत सहभागी थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button