
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो ।
करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन ।


यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ ।
‘यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन । भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ’, आचार्यले भने, ‘जनजीवन भने सामान्य रहेको छ ।’
पहाडी क्षेत्रमा वर्षा भएकाले जिल्लामा अझै पनि हिमपात हुनसक्ने देखिएको छ । हिमपात एवं चिसोबाट बच्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयले सूचना जारी गरी स्थानीयवासीलाई अनुरोध गरेका छन् ।