
नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ।



बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो।



शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको हो। आउँदा दिनमा अन्य वडाहरूमा पनि यस किसिमको कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ।



कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रमुख अतिथि अजय द्वीवेदीले नेपाली कांग्रेसले आफूलाई समयक्रमसँगै बदलेर अघि बढ्न नसक्ने हो भने पार्टीको भविष्य अझै कमजोर हुन सक्ने जिकिर गरे ।
पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको वास्तविक कदर पार्टीले गर्न नसकेको द्वीवेदीको गुनासो थियो। कार्यक्रमका विशेष अतिथि संविधान सभा सदस्य अनिल रुङटाले युवाहरूलाई राजनीति संगसंगै उधमशीलतामा पनि लाग्न सुझाव दिए ।
उद्यम संगसंगै राजनीतिलाई अघि बढाउन सक्ने व्यक्तिले भ्रष्टाचार र अनियमितता जस्ता सामाजिक अपराध र विकृतिबाट आफूलाई जोगाउने रुङटाको भनाई थियो। कतिपय व्यक्तिले राजनीतिलाई व्यवसाय बनाउँदा बेथिति बढेको रूङटाले बताए ।
कांग्रेस नेता रामनारायण कुर्मीले राजनीतिक नेतृत्वको बोली र व्यवहारमा एकरुपता हुनुपर्ने मत व्यक्त गरे । कुनै पनि राजनीतिक नेतृत्वले गर्ने आदर्श र सिद्धान्तका कुरा उसले सबैभन्दा पहिले आफूबाटै लागू गरेर विश्वास आर्जन गर्न सक्नुपर्ने कुर्मीको भनाई थियो।
कांग्रेसका युवा नेता कञ्चन झाले समुदायमा नेपाली कांग्रेसलाई फेरि दह्रो गरी स्थापित गर्न यो कार्यक्रम ल्याइएको बताए ।
समुदायलाई अहिलेको युग सापेक्ष बनाउन अपरिहार्य भइसकेको झाको भनाई थियो।