
एशियाली विकास बैंकको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर व्यवस्थापन केन्द्र शहरको मुहार फेर्न सहयोगी बनेको छ ।
यसअघि नेपालकै प्रवेशद्वार मानिएको शंकराचार्यद्वारको छेवैमा थुपारिएको फोहोरको डंगुरले वीरगञ्जको सुन्दरता नै बिगारिरहेको थियो । नेपाल–भारत सीमानामा रहेको शंकराचार्यद्वार भएर आउजाउ गर्ने जो कोहीमा यो फोहोरको थुप्रोले नकारात्मक सन्देश दिइरहेको थियो ।
यो वीरगञ्जलाई फोहोर र फोहोरमा फैलिने लामखुट्टेको अस्तव्यस्त शहरको रूपमा पनि चिनाउन पर्याप्त थियो । फोहोर व्यवस्थापन केन्द्र सञ्चालन भएपछि वीरगञ्जको सरसफाइ प्रभावकारी भएको छ ।
शंकराचार्यद्वार र नगरका अन्य खुला ठाउँमा थुपार्ने गरिएको फोहोर अब वीरगञ्जको नगवामा १६ बिघा १० कट्ठा क्षेत्रफलमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन भइरहेको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।
वीरगञ्जको सरसफाइ प्रभावकारी बनाएर शहरको सुन्दरता बढाउन यो पूर्वाधार कोसेढुंगा नै सावित भएको प्रमुख सरावगीको भनाइ छ । नगर क्षेत्रको सरसफाइमा निजीक्षेत्रलाई सहभागी बनाएर महानगरको स्रोतको प्रभावकारी परिचालनको नीति पनि महानगरले लिएको छ ।
चिनियाँ कम्पनीले यो ल्याण्डफिल साइट निर्माणको जिम्मा लिएको थियो । चिनियाँ कम्पनीको स्थानीय प्रतिनिधिको रुपमा पप्पु कन्स्ट्रक्सनले योजना निर्माणको कामलाई अघि बढाएको थियो । यो योजना वीरगञ्जको फाहोर व्यवस्थापनका लागिमात्रै नभएर देशकै लागि नमूना परियोजना भएको पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुमित रौनियारले बताए ।
वीरगञ्जको सरसफाइ विगतको तुलनामा सुधारोन्मुख देखिएको युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल बताउँछन् । ‘महानगरले फोहोर संकलन र विसर्जनलाई प्रभावकारी बनाएको अनुभूति भएको छ । विगतको तुलनामा वीरगञ्जमा लामखुट्टेको समस्या पनि कम भएको छ,’ वीरगञ्ज १० का बासिन्दा अग्रवालले भने ।
महानगरले लामखुट्टै फैलिने समयमा औषधि छर्किएर लामखुट्टे मार्ने अभियान नै चलाउने गरेको सरावगीले जानकारी दिए । महानगरले एडीबीको सहयकार्यमा ४७ करोड ८० लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको हो ।
नगरक्षेत्रबाट दैनिक ८० मेट्रिकटन फोहोर संकलन हुने महानगरले बताएको छ । नगरका विभिन्न क्षेत्रबाट उठाइएको फोहोर व्यवस्थापन केन्द्रमा पुर्याइने गरेको छ । यो पूर्वाधारमा नगर क्षेत्रबाट निस्किने फोहोरलाई २५ वर्षसम्म व्यवस्थापन गर्न सकिने महानगरले बताएको छ ।
फोहोर व्यवस्थापन केन्द्रबाट महानगरले वर्षमा करीब २० करोड रुपैयाँ आय आर्जनको योजना राखेको छ । कुहिने फोहोरबाट मल बनाउने र पुनः प्रयोग हुने फोहोर विक्री गर्ने योजना महानगरको छ ।
नकुहिने फोहोर विक्रीबाट मात्रै वार्षिक करीब १२ करोड र मलबाट ६ करोड रुपैयाँ आम्दानी हुने अनुमान महानगरको छ । कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरले ३९ हजारभन्दा बढी डस्टबिन बाँडेको छ । तर, स्थानीयले कुहिने र नकुहिने फोहोर नछुट्याइदिँदा समस्या भइरहेको पनि महानगरको सरसफाइ शाखाले बताएको छ ।
बायो ग्यास प्लान्ट निर्माण गरेर कुहिने फोहोरबाट मल बनाउने योजना राखिएको छ । यसबाट पर्यावरण जोगिनुका साथै महानगरको आय स्रोतसमेत बढ्ने महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटा बताउँछन् ।
प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि महानगरले इन्सिनेरेटर प्लान्ट ल्याउने योजना बनाएको छ । प्लान्टमा प्रतिघण्टा ३ टन प्लास्टिकजन्य फोहोर जलाउन सकिने र त्यसबाट विद्युत् उत्पादन गर्न सकिने नगर प्रमुख सरावगीले बताए ।आर्थिक अभियान



