खोपमा पनि विभेद : उपत्यकाबाहिरका बालबालिकाले २ महीना बितिसक्दा पनि पाएनन् फाइजरको दोस्रो डोज
बालबालिकाको स्वास्थ्यमा सरकारी खेलवाड

पटकपटक कोरोनाको लहर आइराख्दा सरकारले भने बालबालिकाको स्वास्थ्यमाथि चरम खेलवाड गरिरहेको छ ।



सरकारले समयमै खोपको दोस्रो डोज नपठाएपछि उपत्यकाबाहिरका बालबालिका कोरोना संक्रमणको जोखिममा परेका हुन् ।



सरकारले काठमाडौं उपत्यकाका बालबालिकालाई यो खोपको दोस्रो मात्रा दिएको छ । तर, मधेस प्रदेशसहित उपत्यका बाहिर अहिले यो खोपको दोस्रो मात्रा पठाएको छैन ।



मधेस प्रदेशमा ७ हजार ५९७ बालबालिकालाई पहिलो डोज लगाएकोमा तीमध्ये ३ हजार ९५३ जनाले दोस्रो डोज पाएका छैनन् । उनीहरु दोस्रो डोजको पर्खाइमा छन् ।
सरकारले १२ देखि १८ वर्षुमुनिका बालबालिकाका लागि फाइजर खोपको पहिलो डोज लगाएको थियो । २१ दिनमा लगाउनुपर्ने दोस्रो डोज कहिले पाउने हो भन्ने टुंगो हुन सकेको छैन ।
डेढदेखि २ महीना बितिसक्दा पनि खोप नपाएको गुनासो बालबालिकाका अभिभावकले गरेका छन् । उनीहरु आफ्ना बालबालिकाको स्वास्थ्य जोखिममा परेको भन्दै चिन्तित भएका छन् ।
सरकारले कोरोनाको गम्भीर असरबाट बच्न खोप अभियान चलाइएको दाबी गरेको छ । कम्तीमा २ डोज खोप लगाएमा कोरोना संक्रमणबाट गम्भीर समस्या नहुने स्वास्थ्य विज्ञहरुले बताउने गरेका छन् ।
सरकारले फागुन १ गतेदेखि विद्यालय खोल्ने भएको छ । केही स्थानमा त विद्यालय खुल्न थालेका छन् । सरकारले कतिपय क्षेत्रका मानिसलाई बुस्टर डोज उपलब्ध गराएको छ ।
तर, दैनिक सयौंको भिडमा विद्यालय जाने अवस्थाका कलिला बालबालिकालाई पूर्ण डोज खोप उपलब्ध नगराउँदा उनीहरु जोखिमा परेका छन् ।
सरकारले उपत्यकाबाहिरका बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको खोप आपूर्तिमा समेत विभेद गरेको बालबालिकाका अभिभावकले गुनासो गरेका छन् । स्थानीय नेतृत्व, स्थानीय तथा प्रदेश सरकारहरुले समेत यसमा प्रभावकारी पहल गर्न नसकेको आरोप उनीहरूको छ ।
मधेस प्रदेशबाट स्थानीय जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य मन्त्रालयमा खोप पठाउन बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको ती कार्यालयका प्रमुखहरुले बताउने गरेका छन् ।
‘हामीले पटकपटक आग्रह गरेका छौ । तर, आजभोलि भन्दै झुलाउने काममात्र भइरहेको छ,‘ जिल्लास्थित एक उच्च अधिकारीले समतालाई बताए ।