
बागमती प्रदेश सरकारले भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान शुरू गर्ने भएको छ।
भेडा बाख्रामा लाग्ने हैजा अर्थात् पिपिआर रोगविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा नै पहिलो पटक मंगलबारदेखि सप्ताहव्यापी रुपमा खोप कार्यक्रम सुरु गर्न लागेको हो।
बागमती प्रदेश भित्र रहेका १३ वटै जिल्लाका एक हजार एक सय ३७ वटा केन्द्रबाट खोप दिइने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए। पिपिआर भेडाबाख्रामा विषाणुको कारणले लाग्ने महामारी रोग हो।
यो रोग लागेपछि पशुहरुमा ज्वरो आउने, झोक्राउने, आँखामा कचेरा लाग्ने लगायतका लक्षणहरु देखा पर्दछ।
‘पिपिआर रोगको समस्या यो प्रदेशमा अलि धेरै नै देखिएको छ,’ ढकालले भने,‘यसर्थ मन्त्रालयले नै यो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो। यसबाट यस प्रदेशका किसानहरु लाभान्वित हुने मन्त्रालयको विश्वास छ।’
कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लाहरुमा स्थानीय तहहरुको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत विभिन्न स्थानहरुमा खोप केन्द्रहरु निर्धारण गरिएको ढकालले बताए। बागमती प्रदेश भित्र २४ लाख ४४ हजारभन्दा धेरै भेडाबाख्रा भएपनि ११ लाख ९० हजार मात्रा मात्र खोप रहेको मन्त्रालयले जनाएको छ।



