खबर फटाफटप्रदेश

मानव बेचबिखनको आरोपमा पक्राउ, बालिकाको उद्दार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पर्सामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटबाट अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं ७ का राजु अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

बैतडीकी १४ वर्षीया बालिकालाई भारततर्फ लैजान लागेको अवस्थामा अधिकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीले माइती नेपालको समन्वयमा अधिकारीलाई नियन्त्रणमा लिई बालिकाको उद्दार गरेको हो ।

बालिका घरबाट सम्पर्कबिहीन भएलगत्तै प्रहरीले खोजतलास थालेको थियो । प्रहरीका अनुसार हाल जिल्ला चितवन भरतपुर उपमहानगरपालिका वडा नं १ पोखरा बसपार्क बस्दै आएका २८ वर्षका अधिकारीले पीडित बालिकासँग लगभग १ महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाएका थिए ।

अधिकारीले अर्घाखाँची लगी विवाह गर्ने भनी झुक्याएर वीरगञ्ज बसपार्कसम्म ल्याई अब ५ मिनेटमा घर पुगिन्छ भन्दै ईनर्वा नाका हुँदै भारततर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

पर्सा जिल्ला अदालतबाट मंगलबार ७ दिन म्याद थप गरी अधिकारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button