अर्थप्रदेश

वीरगञ्ज महानगरले होटल व्यवसायीलाई सम्पत्ति करमा ५० % छूट दिने

वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका होटल व्यवासायीलाई सम्पत्ति करमा ५० प्रतिशत छूट दिने भएको छ ।

महानगरका प्रमुख विजयकुमार सरावगीले कोरोना प्रभावित होटल व्यवसायलाई राहतका लागि यस्तो छूट दिने घोषणा गरेका हुन् ।

वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघले आइतबार नगर प्रमुख सरावगीलाई भेटेर सम्पत्ति करमा छूट माग गरेको थियो । संघका अध्यक्ष हरि पन्तको अगुवाईमा गएका होटल व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले कर छूटको घोषणा गरे ।

महानगरले चालू आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रममा होटल तथा पर्यटन व्यवसाय, विद्यालय, उद्योग कलकारखाना, अस्पताल, सपिङमललगायतलाई कर छूटको घोषणा गरेको थियो । तर, नीति तथा कार्यक्रम पारित गर्दा होटल र पर्यटन व्यवसायलाई छूट दिइने विषय छुटेपछि व्यवसायी असन्तुष्ट बनेका थिए ।

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित होटल तथा पर्यटन व्यवसायलाई महानगरले राहत नदिकोमा उनीहरूको आपत्ति थियो । यही असन्तुष्टि लिएर गएका होटल व्यवसायीसमक्ष नगर प्रमुख सरावगीले कर छूट दिइने बताएका हुन् ।

आगामी चैत मसान्तभित्र सम्पत्ति कर बुझाएमा ५० प्रतिशत कर छूट हुने सरावगीले बताए । महानगरले आर्थिक वर्ष २०७७/ ७८ र २०७८/ ७९ को करमा छूट दिने भएको हो ।

नीति तथा कार्यक्रममा परेको छूटको विषय पारित गर्दा छुटेकोमा त्यसलाई पुनः समावेश गर्न प्रक्रिया अघि बढाइसकिएको सरावगीले बताए । चैत मसान्तभित्र कर बुझाएमा कुनै प्रकारको जरीवाना पनि नलाग्ने महानगरले बताएको छ । यसबाट होटल व्यवसायीलाई राहत हुने दाबी उनको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button