खबर फटाफटप्रदेश

कर्णालीमा बढ्यो संक्रमण, बढेन परीक्षण

पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ ।

सोही दिन ११२ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनालाई पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै बिहीबार ७ जनाको पीसीआर गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर पोजेटिभ दर ५७ प्रतिशत देखिएको हो । सोही दिन ७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १२ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा ११३ जना संक्रमितहरु होमआसोलेसनमा छन् । जस्मा सुर्खेतमा ७७ जना, सल्यानमा २६ जना, कालिकोटमा ६ जना, दैलेखमा २ जना, रुकुमपश्चिम र जाजरकोटमा एक/एकजना छन् ।

पछिल्लो समय बढ्दै गएको संक्रमण दरले कोभिडको तेस्रो लहरको संकेत गरेकोे प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन् । आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे गत वर्ष जेठ–असारको नियति दोहोरिन सक्ने उनले बताए ।

‘संक्रमण दर ह्वात्तै बढेको छ, जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भइरहे हामीले गत जेठ–असारमा भोगेको नियती फेरि नआउँला भन्न सकिन्न’ डा. खड्काले भने ‘पछिल्लो तथ्यांक केलाउँदा भयावह स्थिति आउन सक्ने आंकलन सहजै गर्न सकिन्छ ।’

गत वर्ष जेठ–असार महिनामा कर्णालीमा कोरोना संक्रमण दर उच्च थियो । संक्रमणदर ९० प्रतिशतभन्दा माथि पुगेको निर्देशनालयको तथ्यांक छ । मेडिकल अक्सिजनको हाहाकार हुँदा कोरोना विशेष अस्पतालहरूलाई नै संक्रमित बिरामीको उपचार गर्न हम्मेहम्मे भएको थियो ।
समयमै सतर्कता नअपनाए सोही अवस्था यो पटक पनि आउन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ । प्रदेशका प्रवेशद्वारमा विशेष सतर्कता अपनाउनु पर्ने उनीहरुको सुझाव छ ।

कार्णालीमा कोरोना संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला प्रदेशमा हालसम्म ओमिक्रोन संक्रमण छ/छैन भन्नेर पत्ता लगाउने क्षमताको एउटा पनि प्रयोगशाला छैन ।

ओमिक्रोन हो हाइन भनेर पत्ता लगाउन राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौंमा नमुना पठाउनु पर्ने बाध्यता रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय भेटिएका संक्रमितमा पहिलाको भन्दा फरक लक्षण देखिने गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुुर केसीले बताए । ‘अहिलेका संक्रमितहरुमा विगतको भन्दा भिन्न लक्षण देखिएको छ, कुन भेरियन्ट हो त्यस्को पनि पुष्टि हुन सकेको छैन् । ओमिक्रोनको परीक्षण राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा मात्रै हुने गरेकोे छ’ उनले भने ।

बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा ओमिक्रोनको परीक्षण गर्ने भनिए पनि शुरु हुन नसकेको उनले बताए । ‘भेरीमा परीक्षण शुरु भए कर्णालीलाई पनि सहज हुन्थ्यो, केन्द्रमा लोड बढी भएकाले अहिलेसम्मा हामीले नमुना पनि पठाएका छैनौं’ सूचना अधिकारी केसीले भने ।

उनका अनुसार पछिल्लो समय भेटिएका संक्रमितहरुमा निरन्तर खोकी, ज्वरो, स्वाद वा गन्ध परिवर्तन हुने र हराउने, शरीरको पछिल्लो भागका जोर्नीहरू दुख्नेजस्ता लक्षण देखिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button