
एमाले बाराको जिल्ला अधिवेशन यही पुस २३ गते हुने तय भएको छ । एमालेले बारासहित देशका सबै जिल्लामा सोही दिन जिल्ला नेतृत्व चयन हुँदैछ ।
जिल्लाका नेताहरुबीच पार्टी नेतृत्वको होड शुरु भएको छ भने कार्यकर्ताहरुमा अबको जिल्ला नेतृत्व कसको हातमा जाला भन्ने चासो र चर्चा बढ्न थालेको छ ।


पार्टी विभाजनपछि महाधिवेशन सम्पन्न भएर जिल्लाामा नेतृत्व चयन हुन लागेकाले पनि यो जिल्ला अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।
एमाले बाराको अध्यक्ष पदका लागि देवनारायण चौधरी, मनोज पौडेल, विनोद साह र रविन दासको नाम चर्चामा छ । चौधरी केही महीनाअघिमात्रै एमाले बाराको अध्यक्षमा मनोनित भएका थिए ।
पार्टी विभाजनपछि हुन गइरहेको जिल्ला नेतृत्व चयन अभियानलाई आम कार्यकर्ता र जनताले निकै चासोका साथ हेरेका छन् । जिल्लामा पार्टीलाई सशक्त बनाउने जुझारु र दक्ष युवा नेतृत्वको अपेक्षा गरिएको छ ।
मनोज पौडेल पार्टीमा नयाँ पुस्ताबीच लोकप्रिय नेता मानिन्छन् । एमाले बारामा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेका पौडेल क्रियाशील र पार्टीलाई सशक्त रुपमा अग्रगामी दिशामा लैजान सक्ने क्षमता भएका नेताको रुपमा आम कार्यकर्ताले रुचाएका व्यक्तित्व हुन् ।