No Image Headlineअर्थमुख्य खबरविशेष

बारा-पर्सा कोरिडोरमा औद्योगिक प्रदूषणको मापन हुँदै, वायु दूषित गर्ने उद्योलाई कारवाही गरिने

प्रदूषणमा वीरगञ्ज महानगर पनि जिम्मेवार 

Thrill Factory
Rungta Group

वीरगञ्जमा औद्योगिक प्रतिष्ठानहरुले फैलाएको वायु प्रदूषणको मापदन शुरु गरिएको छ । बारा पर्सा औद्योगिक कोरिडोरका उद्योगबाट बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरले प्रदुषण मापन थालेको हो ।

प्रदूषण गर्ने उद्योगलाई कारवाही गरिने भएको छ । उद्योगले प्रदूषण फै्रलाएर स्थानीयको स्वास्थ्यमा खेलवाड गरिरहेको गुनासो आएपछि महानगरले यो कदम चालेको बताइएको छ ।

अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ । डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्ने छ ।

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इञ्जीनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो ।

उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्याङ्कन भइरहेको महानगरले बताएको छ । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ ।

बारा पर्सा कोरिडोरमा २००० उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्याङ्कन गर्ने काम गरिरहेको छ ।

यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको सङ्ख्या पनि बढ्दो छ ।

शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य सुरु गरिसकेको जनाएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत सङ्कलन कार्य सम्पन्न भइसकेको इञ्जीनियर कर्णले जानकारी दिए ।

प्रदूषणमा महानगर पनि जिम्मेवार 

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ ।

महानगर स्वयम्ले पनि नगर क्षेत्रबाट निस्किएको फोहोर पानी प्रशोधन नगरी यही नदीमा फाल्ने गरेको छ । तर, यसबारे महानगर मौन देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button