
प्रहरीले दुई लाख अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका गगनगौडाबाट मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भई हाल पोखराको पृथ्वीचोक बस्दै आएका ४२ वर्षीय छिरिङ ढुन्डु गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त टोलीले सुराकीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन शुक्रबार साँझ चेकजाँज गर्ने क्रममा अवैध रुपमा लिई हिँडेको अमेरिकन डलर १ लाख ९४ हजार २ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
सो रकमको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार ११९.५ का दरले २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ पर्न आउँछ । प्रहरीले गुरुङको साथबाट २ वटा मोबाइल, एउटा चेकबुक र नागरिकताको प्रमाणपत्र पनि बरामद गरेको जनाएको छ ।