No Image Headlineअर्थ

भन्सारले उठायो वीरगञ्ज नाकाबाट ८७ अर्ब राजस्व, लयमा फर्किँदै वैदेशिक व्यापार

Thrill Factory
Rungta Group

भन्सारले मुख्य नाका वीरगञ्जमा रहेका २ प्रमुख भन्सारबाट ८७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएसँगै वैदेशिक व्यापारमा आएको सुधारको प्रभाव भन्सारको राजस्वमा देखिएको छ ।

वीरगञ्ज नाकामा रहेका आईसीपी र सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिक अवधिमा तोकिएको राजस्व लक्ष पूरा गरेको ती भन्सारले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह भन्सारले चालू आवको साउनदेखि कात्तिकसम्मको अवधिमा ८७ अर्ब ७ करोड रुपैयाँ राजस्व उठाएका हुन् । दुवै भन्सारले चालू आवको पहिलो चौमासिक अवधिका लागि तोकिएको राजस्व लक्ष्य पूरा गरेका छन् ।

गत आवमा कोरोना महामारीको असरले राजस्व संकलनमा प्रतिकूल प्रभाव परेकोमा चालू आवमा महामारी न्यूनीकरणसँगै व्यापारिक गतिविधि बढेकाले राजस्वमा सुधार आएको वीरगञ्ज भन्सारले बताएको छ ।

गत आवको साउनदेखि कात्तिकसम्ममा ४३ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सारले चालू आवको समीक्षा अवधिमा ७० अर्ब १२ करोड रुपैयाँ उठाएको तथ्यांकले देखाउँछ ।

त्यस रकममध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर उठेको छ । वीरगञ्ज भन्सारले यस अवधिमा २६ अर्ब ४८ करोड मूल्यअभिवृद्धि कर र आयाततर्फ २५ अर्ब ४१ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

यो भन्सारले लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सारले चालू आवको पहिलो ४ महीनाका लागि ६५ अर्ब ११ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले ४ महीनामा लक्ष्यभन्दा करीब ४ प्रतिशत बढी राजस्व उठाएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

सुक्खा बन्दरगाह भन्सारले सो अवधिमा १६ अर्ब ९४ करोड रुपैयाँ राजस्व उठाएको भन्सार अधिकृत बलराम भण्डारीले बताए । चालू आवको पहिलो चौमासिक अवधिका लागि १६ अर्ब ३० करोड रुपैयाँको लक्ष्य लिएको थियो ।

आयात निर्यात कारोबार परिमाणका आधारमा वीरगञ्जका भन्सार मुख्य मानिन्छन् । यस नाकाबाट मुख्यत : औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम र सवारीसाधनको आयात बढी हुन्छ । प्रशोधित खाने तेल, जुस, पिना, कपडा, घागोलगायत उत्पादन यस नाकाबाट निर्यात हुने मुख्य वस्तु हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button