
दशैं अघिदेखि सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माण अघि बढ्ने भएकाले अर्काे सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले बताएको छ । कात्तिक २६ गतेदेखि सडक निर्माणको काम सुचारु गर्ने र कात्तिक २८ गतेदेखि पूर्णरूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सरकोर समितिका सदस्य रामशरण नेपालले जानकारी दिए ।
‘काठमाडौं आउजाउ गर्न बाटो ‘क्लियर’ छ, तर सडक निर्माण जारी रहँदा जोखिम हुने भएकाले बन्द गर्ने निर्णय गरिएको हो,’ सडक निर्माणका अभियानकर्मी नेपालले भने । चित्लाङ थानकोट सडकअन्तर्गत थानकोट–चन्द्रागिरि खण्डको ठेक्काको म्याद आगामी चैतदेखि सकिने हुँदा तोकिएको म्यादभित्र तोकिएका काम सक्न निर्माण पक्षमाथि दबाब छ ।


सडक निर्माण सरोकार समितिका अनुसार थानकोटबाट दुई हजार २५०० मिटरदेखि ८२५० मिटरसम्मको सडकको ‘ट्र्याक क्लियर’ भइसकेको छ । यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३१६० मिटर सडकमा मेशिनरी वाल उठाउने, ३४२० मिटर सडकसम्म डाउन गर्ने, ३५८० मिटर सडकसम्म दुई मिटर माटो भर्ने, ३७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्सीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायत काम भएका छन् ।
त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ । सडक निर्माणका मुख्य अभियानकर्मी सुभाषचन्द्र ठकुरीका अनुसार अँधेरी खोल्छामा ‘रक कटिङ’ गरेर उजेली खोल्सा बनाइएको छ भने तीनओटा अप्ठ्यारा घुम्तीलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्र्याक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताए ।