No Image Headlineप्रदेश

मुख्यमन्त्री पाण्डेलाई सहजरूपमा ‘विश्वासको मत’

Thrill Factory
Rungta Group
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहजरूपमा ‘विश्वासको मत’ पाउनुभएको छ । उहाँको दल नेकपा (एकीकृत समाजवादी) का साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले समर्थन जनाएका कारण प्रदेशसभामा उहाँले सहजरूपमा ‘विश्वासको मत’ हासिल गर्नुभएको हो । यसका लागि सोमबार संसद् बोलाइएको थियो ।

सोमबार सभामा विश्वासको मतसम्बन्धी छलफलपश्चात् उहाँले मतदान प्रक्रियाबाट मत प्राप्त गर्नुभएको थियो । सोहीअनुरूप मुख्यमन्त्री पाण्डेले विश्वासको ५९ मत प्राप्त गर्दा विपक्षमा ४३ मत परेको थियो । नेमकिपाका २ सांसद तटस्थ बसेका थिए ।

प्रदेशसभामा १ सय ९ सदस्यमध्ये सोमबार मतदान प्रक्रियामा १ सय ४ सदस्यले सहभागिता जनाएका थिए । प्रदेशमा बहुमतका लागि ५५ मत भए पुग्छ । कात्तिक ११ गते पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका पाण्डेले ‘विश्वासको मत’ लिन कात्तिक १४ गते प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो ।

यसअघि मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताउनुभएको थियो । उहाँले प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्नुभएको थियो । पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्रीले प्रस्ताव पेस गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले ‘विश्वासको मत’ पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । उहाँले मुख्यमन्त्री नियुक्त भएकै दिन ३ मन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नुभएको थियो । पहिलो चरणमा उहाँले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलकी उपनेता कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेस प्रदेशका सचेतक छिरिङ दोर्जेलामाका अनुसार एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । उहाँले भन्नुभयो– जनताको काम पूरा गर्न र सरकारलाई सफल बनाउन मन्त्रालय थप गर्नैपर्छ । सोहीअनुसार प्रदेशमा १३ वटासम्म मन्त्रालय हुन सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button