अर्थप्रदेश

वीउवासंघले गर्‍यो आन्तरिक राजस्व कार्यालय प्रमुखसँग अन्तरक्रिया

वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीको अन्तरक्रिया तथा छलफल कार्यक्रम एक समारोहका बीच सङ्घकै बैठक कक्षमा सम्पन्न भयो ।

कार्यक्रमका सभापति वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले निजीक्षेत्रमैत्री कर प्रशासन ल्याउनुपर्ने, करको दर नबढाई करको दायरा बढाउनुपर्ने, नन–फाइलरको पहिचान गरी करको दायरामा ल्याइनुपर्ने लगायतको आग्रह गरे । ठूला करदाताको कार्यालय राजधानीमा मात्रै सिमित रहेको कारण मोफसलका ठूला करदाताले कठिनाई भोग्नु परिरहेकोले ठूला करदाताको कार्यालय मोफसलमा पनि स्थापना गरिनुपर्ने वा स्थानीय आन्तरिक राजस्व कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने सुझाव दिए ।

आन्तरिक राजस्व कार्यालय, पर्साका नवआगन्तुक प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीले कार्यालयमा कर्मचारीको सङ्ख्या कम भए पनि सेवाग्राहीहरुलाई छिटो, छरितो एवम् गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले विद्यमान कर सम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक लगाउने तजबिज नरहेको बताए । कर सम्बन्धी शिक्षाको अभावमा करदाताहरुले जरिवाना तिर्नुपर्ने बाध्यता रहेकोले कर सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढाउने बताए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेउवामहासङ्घ–प्रदेश नं. २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, अशोककुमार वैध, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव अनोज रुँगटालगायतको उपस्थिति थियो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button