No Image Headlineप्रदेश

वीरगञ्जमा जसपाको शुभकामना समारोह : उपेन्द्र यादव सहभागी सभामा किन अटाएनन् प्रदीप यादव ?

Thrill Factory
Rungta Group

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता कार्यकर्ताहरुलाई चुनावको तयारी शुरु गर्न निर्देशन दिएका छन्। दीपावली तथा छठ पर्वको अवसरमा वीरगंजको नगरसभा गृह (टाउनहल)मा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जसपा पर्सा जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै यादवले भने, ‘मलाई लाग्छ निर्धारित समयभन्दा पनि पहिले चुनाव हुने सम्भावना छ, राजनीतिक सहमति भयो भने चाडै चुनाव हुनेछ। तपाईँहरु अहिलेदेखि नै चुनावको तयारीमा जुट्नुहोस्।’

उनले कात्तिकदेखि माघसम्म चार महिनामा पार्टी भित्रको विकृतिहरु हटाउन पार्टीले सुद्धिकरण अभियान पनि चलाएको जानकारी गराउँदै वडास्तरदेखि कार्यकर्ताहरुको प्रशिक्षण, शुद्धिकरण तथा आगामी चुनावमा कस्ता उम्मेद्वारलाई जनप्रतिनिधिको रुपमा अघि सार्ने हो त्यसबारेमा पनि जिल्ला तहका नेताहरुले तयारी अगाडि बढाउनु पर्ने सुझाव दिए। उनले संघीयता आइसकेपछि व्यवस्था बद्लेको तर समाजको मानसिकता र नेताहरुको चिन्तन नबद्लेको कारण समाज परिवर्तनको लागि सबैभन्दा पहिले राजनीतिक, आर्थिक र सामाजिक सोच बदल्नु पर्ने आवश्यक रहेको औँल्याए।

‘जसपा पार्टी गरिब, विपन्न, मधेसी, विछडावर्ग, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायत राज्यद्वारा पछि पारिएको समुदायको पार्टी हो’, उनले भने, ‘न्याय, अवसर र सुशासन, विकास र समृद्धिको लागि पार्टीको राजनीति केन्द्रित रहेकोले व्यक्तिवादी चिन्तनबाट माथि उठेर जोशका साथ अघि बढनुपर्छ।’

उनले राजनीतिक परिवर्तनको लागि पार्टीलाई भोट पाउने समानुपातिक निर्वाचन प्राणाली र जनताद्वारा निर्वाचित राष्ट्रपतिको निर्वाचन प्रणाली बेगर देश विकसित नहुने उनले बताए।

‘जनताले चुन्न पाउने कार्यकारी राष्ट्रपति आए भने चुनावमा नेताले खर्च गर्ने बाटो बन्द हुन्छ, विशुद्ध राजनीतिकर्मीले स्थान पाउँछन्’, उनले भने, ‘अहिलेदेखि नै मलाई फोन आउन शुरु भइसकेको छ, पैसा जम्मा पारिसके चुनावमा टिकट चाहियो नेताजी भनेर।’

आर्थिक विकासको एजेन्डामा नेपालको पानीलाई उपयोग गरी देशमा कृषिलाई आधुनिकीकरण र औद्योगिकीकरण गरी गरिबी, बेरोजगारी अन्त्य गर्न पनि सरकार अग्रसर हुनु पर्नेमा उनले जोड दिए। उनले यसरी नै समाजमा भ्रष्टाचार र कुशासन बढेकोले जनताले संघीयता महसुस गर्न नपाएको बताए।

त्यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोसपा असंवैधानिक पार्टी भएकोले असंवैधानिक नेताहरुमाथि विश्वास नगर्न जनतालाई अनुरोध गरे। उनले दुई पटक संविधानको अधिकार मिच्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको भन्दै ओलीलाई लोसपाका नेताले सघाएको बताए।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भई निलम्बनमा परेका हरिनारायण रौनियारले पार्टीको अनुशासनमा नचल्ने नेताले पार्टी छोड्नु पर्ने बताए। उनले जसपालाई सुपरफास्ट रेलको संज्ञा दिँदै जसले चड्छ उ अघि जाने र जो छुटछ त्यो पछि पर्ने भन्दै व्यंग्य समेत गरेका थिए।

जसपाका बारा ३ का सांसद रामबाबू प्रसाद यादवले पार्टीको विधान विपरित काम गर्नेलाई पार्टीले नछोड्ने बताए। प्रदेश २ का राज्यमन्त्री योगेन्द्रप्रसाद यादवले पार्टीको निर्णय नमानी आचरणविपरित काम गर्ने र पार्टीको झण्डा जलाउने काम निन्दनीय भएको बताए।

उनले पार्टीको विचार र झण्डा माथि कोही छैन भन्दै यदि कसैले झण्डा जलाइरहेको छ भने धेरै घमण्ड नगर्न समेत चेतावनी दिए। प्रदेश सांसद करिमा बेगमले पार्टी र पार्टी अध्यक्ष अभिभावक भएकोले एक पल्टको गल्तीलाई महसुस गराई मिलेर जानु राम्रो हुने बताइन्।

जसपाका नेता तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवसँग पार्टी अध्यक्ष उपेन्द्र यादवले मञ्च सेयर गरेका छैनन्। वीरगंज आउनु भन्दा तीन दिनअघि कात्तिक ११ गते उनलाई ७ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका पार्टी अध्यक्ष यादवले करिब १४ वर्ष भित्र पहिलो पटक प्रदीप यादव बिनाको कार्यक्रममा सहभागी भएका छन्।

प्रदीप यादव २०६४ सालमा पार्टीमा प्रवेश गरेसँगै उनकै बर्चश्व र दबदबा थियो। पछिल्लो पटक जसपा सरकारमा जाँदा मन्त्रिपरिषद् विस्तारमा जसपाको सूचिमा प्रदीप यादव नअटाएपछि उपेन्द्र यादव र प्रदीप यादवबीच द्वन्द्व चर्किएको हो। गत असोज २३ गते प्रदीप यादव समर्थित युवा विद्यार्थीहरुले वीरगंजको घण्टाघरमा विरोध प्रदर्शन गरी उपेन्द्र यादवको पुतला जलाउँदै उपेन्द्र यादवलाई वीरगंज निषेध गरिएको अह्वान गरेका थिए। पार्टीले उनलाई तीन दिनभित्र कारण खुलाई स्पष्टीकरण सोधेकोले कार्यक्रममा आमन्त्रण नगरिएको जसपाका एक जिल्ला तहका नेताले बताए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button