देशमुख्य खबर

कोप २६ विश्व सम्मेलनमा भाग लिन प्रधानमन्त्री बेलायतमा, उच्चस्तरीय भेटघाटको तयारी

Thrill Factory
Rungta Group

पाँचौँ पटक प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो विदेश भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आइपुगेका छन्।

स्कटल्याण्डको ग्लास्गोमा आइतबारदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी कोप २६ विश्व सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित उनी शुक्रबार बेलुका लन्डन उत्रिएका हुन्।

लन्डनको हिथ्रो विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्री देउवालाई बेलायती संसदको नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष समेत रहेका बेलायती सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल, लन्डनस्थित समाजसेवी व्यवसायी रविजंग लामिछानेलगायतले स्वागत गरेका छन्।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधुकुमार मरासिनी, परराष्ट्रसचिव भरतराज पौड्याल, उर्जासचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी लागायत उच्च अधिकारीहरु पनि बेलायत आएका छन्।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा स्कटल्याण्डको ग्लास्गोमा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन्। त्यसपछि उनले विश्व नेताहरुको सम्मेलनमा भाग लिनेछन्। त्यसअवसरमा अन्य मुलुकका सरकारप्रमुखसँगै प्रधानमन्त्री देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

सोही दिन साँझ प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग उनले छुट्टाछ्ट्टै भेट्ने तयारी गरिएको छ।

नोभेम्बर २ को बिहान बेलायती प्रधानमन्त्री जोनसन र स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि प्रधानमन्त्री देउवा सहभागी हुनेछन्। उनले नोभेम्बर ३ तारिख स्कटल्याण्डको एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्ने बताइएको छ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार आइतबार बेलुका स्कटल्याण्डतर्फ लाग्नुअघि शनिबार र आइतबार दिनभर प्रधानमन्त्री लन्डनमा पनि विभिन्न भेटघाटमा व्यस्त रहनेछन्। त्यसक्रममा उनले बेलायती मन्त्री, पूर्वमन्त्री, सांसद, राजनीतिक दलका प्रतिनिधि एवम् नेपाली समुदायबाट गोर्खा, एनआरएन, काँग्रेस कार्यकर्ता लगायतलाई भेट्ने कार्यक्रम छ।

शनिबार बिहानदेखि नै लन्डन दूतावासमा प्रधानमन्त्री देउवाका भेटघाटहरु सुरु हुँदैछन्। त्यसक्रममा उनले बेलायती लर्ड, पूर्वमन्त्री, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलका पदाधिकारी लगायतका बेलायतीहरुसँग भेट्दैछन्। प्रधानमन्त्री देउवासँग एनआरएनए यूके र नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिका प्रतिनिधिहरुले पनि छुट्टाछुट्टै भेटघाट गर्दैछन्।

शनिबार साँझ भने प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसदको नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिका तर्फबाट रिसेप्सन आयोजना हुँदैछ। लन्डनको ‘द नाभेल एन्ड मिलिटरी क्लब‘ मा आयोजना हुने समारोहमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधिलगायतका उच्च अधिकारीको सहभागिता रहनेछ।

आइतबार बिहानैदेखि प्रधानमन्त्री देउवाका भेटघाट निरन्तर हुने बताइएको छ। उनले वल्र्ड इनर्जी काउन्सिलका अधिकारीहरुका साथै भूतपूर्व गोर्खाका प्रतिनिधि समेतलाई भेट्ने कार्यक्रम छ। ती भेटघाटपछि दूतावासमा प्रधानमन्त्रीको सम्मानमा एक रिसेप्सन आयोजना गरिँदैछ। जसमा बेलायतस्थित नेपाली समुदायका अगुवाहरु आमन्त्रित छन्।

स्कटल्याण्डमा कोप २६ सम्मेलनमा सहभागिता र केही उच्चस्तरीय भेटघाटपछि नोभेम्बर ३ का दिन प्रधानमन्त्री स्वदेश फर्किने योजना छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button