ऋषी निर्माण सेवाको बद्मासीमा जनप्रतिनिधि मौन : लालबकैया नदीका पुल भासिने खतरा

ऋषि निर्माण सेवाले जथाभावी बालुवा उत्खनन गर्दा रौतहटस्थित लालबकैया नदीको २ वटा पुल भासिने जोखिम बढेको छ ।



कटहरिया नगरपालिकाबाट नदीको ठेक्का लिएको उक्त निर्माण सेवाले जेसिबी प्रयोग गरेर जथाभावी बालुवा उत्खनन गर्दा कटहरिया र गर्जाघाट बकैया नदीको पुल भासिने जोखिम बढेको हो ।



जेसिबी प्रयोग गरेर ठेकदार ब्रह्म नारायण यादवका मानिसहरु कटहरिया पुल देखि मात्र ५० मिटर दक्षिण र गर्जापुलको दुबै तर्फ मात्र १ सय मिटर टाढा बाट दैनिक सैयौं टिपर,ट्याक्टर बालुवा ढुवानी गरिरहेका छन् ।



कुनै पनि भौतिक संरचना पक्की निर्माण भएको स्थानबाट कम्तीमा ५ सय मिटर टाढा बाट नदीजन्य पदार्थ निकाल्नुपर्ने कानुनी व्यवस्था रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केशरीले बताए ।
कटहरिया र गुजरा नगरपालिकामा सबै जनप्रतिनिधि र नेताहरु मौन बसेको कारण ठेकदारले आफ्नो फाइदाको लागि झन्डै २० करोड रुपैयाँको लागतमा निर्माण भएका २ वटा पुल भासिने जोखिम बढेको छ ।
स्थानीय निर्वाचनपछि सम्बन्धित जनप्रतिनिधिले आफ्नो पालिका भित्रको सार्वजनिक सम्पतिको रेखदेख गर्नुपर्ने संविधानमै व्यवस्था छ । कटहरिया र गुजरा नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यसहितको सर्वसम्मतिमा बर्षेणी लालबकैया नदीको टेण्डर गर्ने गर्दछन् ।
ठेक्का पाएका ठेकेदारले प्रत्येक वर्ष कटहरिया र गर्जा घाट लालबकैया पुल छेउबाट नै बालुवा गिट्टी उठाउँदा पनि मात्र बजेट चलाउने जनप्रतिनिधिहरु मौन बसेका हुन्छन् ।
वर्तमान अवस्थामा कटहरिया, गर्जाघाट लालबकैया नदीको पुलको रेखदेख अथवा सुरक्षा संरक्षण कसले गरिदिने ठूलो प्रश्न उठेको छ ।
रौतहटका सिडियो कृष्ण बहादुर शाहीले उक्त दुई पुलको रेखदेख गर्ने जिम्मा कटहरिया, गुजरा नगरपालिका र डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको भएको बताए । साथै उनले अवैध उत्खनन अविलम्ब रोक्का गराउने प्रतिबद्धता जनाए ।