
संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार गरिएको छ ।



मकालु आधार शिविरको हिउँमा फसेका चार जना नेपालीको सोमबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।



मकालु आधार शिविरको हिउँमा काठमाडौंका अनोज चुडाल, सोलुखुम्बुका जंग कुलुङ राई, दीपक कुलुङ राई, दिनेन्द्र कुलुङ राईलाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य नीरज कार्कीले जानकारी दिए ।



विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात जना नेपाली मकालु आधार शिविर पुगेका थिए । कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी छ ।
विष्णु र तेन्जिङ मकालु गाउँपालिका–२ को लाङमालेमै रहेको कार्कीले बताए । मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौं लगिएको थियो । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालु आधार शिविर गएका थिए ।