देश

वर्षाले सडक–पुलमा मात्र साढे तीन अर्बको क्षति

Thrill Factory
Rungta Group

बर्खा सुरु भएयता सडक र पुलमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

यो प्रारम्भिक क्षति अनुमान हो । सबैभन्दा बढी सडकमा क्षति भएको सडक विभागको आकलन छ । कात्तिकमा परेको बेमौसमी वर्षाका कारण मात्र १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसअघि बर्खाले २ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

‘बझाङ र मनाङमा सडक अझै सुरु हुन सकेको छैन,’ महानिर्देशक थापाले भने, ‘बेमौसमी बर्खाले अन्य सडकका विभिन्न खण्डमा पनि अझै समस्या निम्त्याएको छ ।’ मध्यपहाडी र कोसी राजमार्गका विभिन्न खण्डमा पहिरो गएको छ । १८ वटा राजमार्गका २४४ स्थानमा पहिरो खसेको विभागको तथ्यांक छ ।

यसमध्ये ६ ठाउँमा अझै सडक अवरुद्ध छ । १३९ स्थानमा एकतर्फी र ९९ स्थानमा मात्र दुईतर्फी सडक सञ्चालनमा छ । मनाङ जोड्ने डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत निगालाघारीमा पहिरो खस्दा कात्तिक २ देखि बाटो अवरुद्ध छ ।

बर्खापछि अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाले सडक र पुलमा क्षति पुर्‍याएको हो । यसले देशभर करिब १० किमि सडक बगाएको विभागको प्रारम्भिक अनुमान छ । २५ वटा पुलमा क्षति भएको छ ।

यसमध्ये १५ वटा निर्माण सम्पन्न भई हस्तान्तरण भएका र १० वटा पुल निर्माणाधीन हुन् । ‘निर्माणाधीन पुलको क्षति जोडिएको छैन, बाढीले क्षति गरेको भए पनि उक्त पुल निर्माण व्यवसायी आफैंले बनाउनुपर्छ,’ थापाले भने, ‘पुलको बिमा गरिएको हुनाले निर्माण व्यवसायीलाई समस्या भने हुनेछैन ।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button