No Image Headlineअर्थमुख्य खबर

वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न, महिला सशक्तिकरणविना सार्थक विकास कल्पना गर्न सकिँदैन-मन्त्री शर्मा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रबार साँझ वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । प्रदेश २ का उर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले सम्मेलनको उद्घाटन गरेका छन् ।

सो अवसरमा मन्त्री शर्माले आर्थिक रुपमा महिला सशक्तिकरणविना देशको आर्थिक कल्पना गर्न नसकिने बताए । आर्थिक रुपमा महिला सशक्तिकरणको विषय अगाडि आएता पनि नेपालका सन्दर्भमा अझै पनि महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको समान अवसर नपाएको मन्त्री शर्माले दाबी गरे ।

उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत सुधार र योजनाको आवश्यकता मन्त्री शर्माले औंल्याए । उनले प्रदेश नं. २ को सरकार महिला उद्यमशीलता प्रवद्र्धनमा प्रतिबद्ध भएको पनि उल्लेख गरे । उद्यमशीलता अघि बढाउन सरकार र उद्यमीबीच समन्वय र सहकार्य जरुरी भएको उनको भनाइ थियो ।

उनले प्रदेश २ का उद्यमी महिलालाई उर्जामा सहुलियत दिने आश्वासन पनि दिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्यम व्यापारका क्षेत्रमा मा महिलाको उल्लेख्य सहभागितामा जोड दिँदै महिला उद्यमी र उद्यमशीलता प्रवद्र्धनमा संघले सहकार्य गर्दै आएको बताए ।

एनवाईईएफका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफले युवा उद्यमशीलताका सवालमा युवालाई अघि बढाउन पहल गरेको बताए । उनले सो अवसरमा संस्थाको स्थापना र उद्देश्यका बारेमा जानकारी दिएका थिए ।

एनवाईईएफ महिला उद्यमी अध्यक्ष सहारा जोशीले उद्यम व्यापारमा युवा महिलाको अग्रसरता अपेक्षित रुपमा हुन नसकेको बताइन् । उनले उद्यममा महिला नेतृत्वको आवश्यकतामा जोड दिइन् । कुनै पनि क्षेत्रको विकासका युवा सहभागिता महत्वपूर्ण हुने उनले बताइन् ।

एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले मोफसलमै पहिलो पटक वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन भएको बताए । सम्मेलनबाट महिला उद्यमीलाई प्रोत्साहन मिल्ने उनले बताए ।

सफल तथा स्टार्टअप उद्यमीबीचको अन्तरक्रियात्मक सम्मेलनले नयाँ उद्यमी वा उद्यमका अग्रसर हुन चाहानेहरुलाई अघि बढ्न हौसला मिल्ने अग्रवालको दाबी थियो । महिला उद्यमशीलताको विकास र समस्या समाधानमा सम्मेलन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे ।

सो अवसरमा एनवाईईएफले वीरगञ्जकी ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको छ । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तरक्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान पनि भएको थियो । सम्मेलनमा १०० भन्दा बढी महिला उद्यमीको सहभागिता थियो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button