
दसैँको मुखमा मुगु, कास्की लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले काजकिरिया गर्नका लागि आवश्यक खर्च उपलब्ध गराउने भएको छ। दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचारसमेत गर्ने सरकारले जनाएको छ।



गृह मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। दशैँको मुखैमा मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ भने कास्कीमा भएको दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन्। मुगु, कास्कीसहित विगत केही दिनयता देशका विभन्नि ठाउँमा भएको सबारी दुर्घटनामा कयौँ घाइते भएका छन्।



‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ,’ गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फडिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाएर नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको छ।’



साथै, चाडबाड र उत्सवको समयमा हुने यस्ता दुःखद् घटनाको न्यूनीकरणका लागि सडक तथा यातायात सम्बद्ध निकायहरु, स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई संवेदनशील र जिम्मेवार भएर लाग्न समेत गृह मन्त्रालयले आग्रह गरेको छ।