देशमुख्य खबर

आज घरघरमा फूलपाती भित्र्याइँदै, के हो फूलपाती?

Thrill Factory
Rungta Group

आज बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुँदै आएका छन् ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन ।

विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश गराउने प्रचलन रहेको छ । तर, यस वर्षको फूलपातीमा त्यस्तो हुने छैन । प्रतिकात्मकरूपमा फूलपाती भित्र्याइँदै छ ।

कोरोनाको महामारी नै भए पनि दशैँ घर तथा पूजा कोठामा फूलपातीकारूपमा विभिन्न नौ सामग्री भित्र्याइदैछ । शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, गौतमले भने ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि गौतमले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button