बागमती प्रदेशसभामा भएन विश्वासको मतमा मतदान, मुख्यमन्त्रीमा कांग्रेसका इन्द्रबहादुर बानियाँको दाबी

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।



तर, प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।



बागमती मुख्यमन्त्री शाक्यले संसदबाट विश्वासको मत लिने तयारीका साथ प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको थियो ।



यसैबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् ।
नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली काँग्रेसले प्रदेशसभामा हालसम्म निर्वाह गरेको भूमिका राजनीतिक संस्कारयुक्त रहेको र उक्त भूमिकाको जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए ।
सरकार गठनबारे हालसम्म गठबन्धनका दलहरु बीच कुनै औपचारिक छलफल भने नभएको नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकले नेता बानियाँलाई सरकार गठनका लागि गठबन्धनमा आवद्ध दलहरूसँग छलफलको जिम्मेवारी पनि सुम्पिएको छ ।