प्रधानमन्त्री बनेको तीन महीनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिँदै देउवा, राष्ट्रपति भेट्न शीतलनिवासमा

काठमाडौं- प्रधानमन्त्री बनेको तीन महिनामा शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।



कुनै अप्रत्यासित घटनाक्रम विकसित नभए गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ ।



त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् ।



बालुवाटारमा बिहीबार भएको सहमितअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रीय कि फिर्ता भन्ने विवादले शुरुवातमा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएकोमा पछिल्लो पटक मन्त्रालय भागवण्डाले गठबन्धनमा सकस भएको थियो ।
मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय र २ मुख्यमन्त्री पाउने भएपछि उसको असन्तुष्टि हटेको छ । समाजवादीलाई शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय दिइएको छ ।
जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ ।
कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधिसहितका मन्त्रालय पाएको छ ।
नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।
असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले ८८ दिनसम्म पाँच मन्त्री र एक राज्यमन्त्रीका भरमा सरकार चलाउदै आएका थिए ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित राष्ट्रपतिलाई भेट्न पुगेको बताइएको छ । यता राष्ट्रपति कार्यालयले भने यो नियमित भेट भनेको छ ।
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । उनले यो भेटलाई नियमित भएको जानकारी दिए ।