
वीरगञ्ज-प्रहरीले वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जको इनर्वा प्रहरी चौकीको नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार भारत रक्सौलका २५ वर्षीय सुजितकुमार गुप्तालाई पक्राउ गरेको हो ।


गुप्तालाई वीरगञ्ज- १६ शंकराचार्य गेटबाट नेपाली रुपैयाँ ३ लाख ७८ हजार रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
गुप्ता चढेको भारतीय नम्बरको बीआर २२ ई २७६३ मोटरसाइकललाई रोकी जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेको प्रहरीको भनाइ छ ।
गुप्तालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।