महिला उद्यमशीलता अभियान : वीरगञ्जमा कात्तिक ५ गते महिला उद्यमी सम्मेलन हुने

वीरगञ्ज- नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आउँदो कात्तिक ५ गते वीरगञ्जमा नेपाली महिला उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । एनवाईईएफले बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेर लेडिज सर्कल नेपालसँगको सहकार्यमा सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।
उद्यमशीलतामा नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक वीरगञ्जमा सम्मेलन गर्न लागिएको आयोजकले बताएको छ । सो एक दिने सम्मेलनमा १ सयभन्दा बढी महीला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले बताइन् ।


‘उद्यममा महिलाले भोग्नु परेका समस्याहरूलाई उठान गर्ने र समाधानका उपायहरूमा गहन छलफल गर्नु पनि सम्मेलनको उद्देश्य हो,’ संयोजक सुनुवारले भनिन्, ‘महिला उद्यमशीलता प्रवद्र्धनका चुनौतीहरूको समाधान र सम्भावनाको खोजीका निम्ति सरोकारका पक्ष तथा निकायहरूमा रचनात्मक पहल कदमीका बारेमा सम्मेलन महत्वपूर्ण हुनेछ ।’
एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले उद्यमशीलताका विविध क्षेत्रमा सहभागी महिला उद्यमीहरूको मेहेनत, संघर्ष तथा सफलताका विषय प्रस्तुत गरिने जानकारी दिए । सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि अग्रवालले व्यक्त गरे ।
विभिन्न क्षेत्रमा व्यवासायमा सफल महिला उद्यमीहरूको सफलता, संघर्ष र धैर्यताका अनुभवहरू आदानप्रदान गरिने लेडिज सर्कल नेपाल निवर्तमान अध्यक्ष रश्मी दासले बताइन् ।
व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सो एक दिने अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागीहरूलाई ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको पनि आयोजकले बताएको छ ।
सम्मेलनमा हुने विभिन्न सत्रका विषयबस्तु व्यवसायमा नवप्रवेशीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने दाबी दासले गरिन् । सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरूबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने दक्षता विकास हुने विश्वास आयोजकको छ ।
जनसंख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको आर्थिक सशक्तीकरण नभई अर्थसामाजिक विकास सम्भव नहुने संयोजक सुनुवारले बताइन् ।
अहिले पनि आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता न्यून भएको अवस्थामा आयोजना हुन गइरहेको सम्मेलनले उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरिन् ।