खबर फटाफटदेश

आज ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकलाई टेलिकमको निःशुल्क सिमकार्ड

Thrill Factory
Rungta Group

आज अक्टोबर १ अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ ।

सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रूपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्न नपर्न र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था पनि छ । तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।

यसैबीच नेपाल टेलिकमले आजदेखि आउँदो २५ गतेसम्म ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड दिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क रुपमा प्रदान गरिनेछ ।

यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button